१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्ड

bangladesh court

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् । विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् । सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो । चरमपन्थी संगठनले हसिनाले भाषण गर्ने कलेजमा दुई बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थियो र त्यसलाई निस्क्रिय बनाइएको थियो ।

सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थियो । यससँगै हसिना अहिले प्रधानमन्त्रीको चौथो कार्यकाल चलाइरहेकी छिन् ।