६ बैशाख २०८१, बिहीबार

भारतीय सीमानाकामा थप कडाइ गर्न गृहको निर्देशन

boarder

कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइ गर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिइसकेको छ’, प्रवक्ता बुढाले भने ।
गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न भनेको छ । यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ । गृह प्रवक्ता बुढाका अनुसार सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकाहरूमा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरानाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन आग्रह गरेको थियो ।भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसै गरी आम सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मन्त्रालयका अनुसार मास्क नलगाई हिँडेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो ।

मन्त्रालयले छिमेकी मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि अन्य आवश्यक पर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ । यस्तै डिजिटल सञ्चारका साधनहरूबाट सुरक्षा सावधानीका उपायहरूबारे सचेतना सन्देश प्रसारण गर्ने नीति पनि गृह मन्त्रालयले लिएको छ ।