१५ चैत्र २०८०, बिहीबार

हुम्लाका चार गाउँपालिका सडक सञ्जालमा

Humla District Final

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले हुम्लाका चार गाउँपालिका छोएको छ । यसअघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोइसकेको थियो ।

कालीकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टानी भाग नेपाली सेनाको विकास निर्माण दलले छिचोलेको सो खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार चट्टानको लेवल मिलाउने, पर्खाल लगाउने र ग्याबिन भर्ने कामसमेत शुरु भएको छ ।

यहाँको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिका बीच कर्णाली करिडोर अन्तर्गत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भिर छिचोलिए पछि जिल्लाका चार वटा गाउँपालिका जोडिएको छ । जिल्लाकै अति अप्ठ्यारो र चट्टानै चट्टान भएको सो क्षेत्रको भिर नेपाली सेनाले डेढ वर्षमा छिचोल्न सफल भएको हो । सली सल्लाको भिर फुटाएर सडक निर्माण गर्न सेना सफल भएको सर्केगार्ड गाउँपालिका गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हाम्रो गाउँपालिका पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, विभिन्न खाद्य वस्तुदेखि भौतिक निर्माणका सामग्री सहज र सस्तोमा भित्राउन सकिने भएकोमा हामी खुशी छौँ, सेनालाई धेरै धेरै धन्यवाद ।”

अझै करिब ६०० मिटर लम्बाइ भएको सो भिरका चट्टान फुटाउन कामदारले शरीरमा डोरी बाँधेर काम गरिरहेका छन् । बीस मिटर चट्टान विष्फोट गरेर सडक निर्माण गरिएको छ । अब असजिलो भिरमा ट्रयाक खोल्ने कार्य पूरा भएको छ । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको सडकमध्ये कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको २७ किलोमिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात सञ्चालन हुँदै आएका छन् ।

हुम्ला खण्डको बालुकुनाबाट सलीसल्ला सम्मको १२ किलोमिटरमा सेनाले अन्तिम चरणको निर्माण गरिरहेको छ । सो क्षेत्रमा चैतभित्र ट्रयाक खोलिसक्ने र असारसम्म गाडी गुडाउन योग्य बनाइने सेनाले जनाएको छ ।