१३ बैशाख २०८१, बिहीबार

चैत १४ गते वसन्तपुर डबलीमा ‘विश्व नेवाः दिवस’

world newa organisation

वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरको आयोजनामा यही चैत १४ गते यहाँको वसन्तपुर डबलीमा विश्व नेवाः दिवस मनाइँदैछ ।

विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि हुनुहुनेछ । उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा सम्मान गरिने भएको छ । यसैगरी, ‘विश्वका नेवार ः चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहनुहुनेछ ।

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, साँस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरु समेटिएको स्मारिकाको पनि विमोचन गरिने छ । नेवाः समुदायको गौरव विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको पछिल्लो शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।

    सम्बन्धित समाचार...