fbpx
६ बैशाख २०७८, सोमबार

कैलालीमा प्रहरीको गोली लागेर दुई घाइते

सांकेतिक तस्विर

मंगलबार बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।

प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका थिए । प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।