७ बैशाख २०८१, शुक्रबार

भागरथी प्रकरणमा नयाँ ट्वीस्ट : परिवारलाई मार्ने धम्कीपछि अपराध स्वीकारेको दिनेशको बयान

dinesh bhatta bhagirathi

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टले अभियोग अस्वीकार गरेका छन्। जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृहमा रहेका दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र घटना देखेको परिवारसँग भनेका छन्। 

सुधारगृहमा भेट्न गएका बुवा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको बताएका हुन्। ‘यसअघि फोनमा पनि मैले अपराध गरेको होइन भनेको थियो। भेटमा पनि घटना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदने धम्की दिएपछि कसैलाई नभनेको सुनायो’ दीपकराजले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा भने,‘घटनामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारी रहेको र अर्का एकजनालाई आफूले नचिनेको दिनेशले बतायो।’

घटनापछि दीपकराज सपरिवार घर छोडेर महेन्द्रनगर सरेका छन्। बुवा र भाइलाई मार्ने धम्की दिएपछि डरले आफूले घटनाबारे कसैलाई नभनेको दिनेशले बताएका छन्। अहिले सपरिवार महेन्द्रनगर सरेपछि मात्र भनेको उनका बुवा दीपकराजले सुनाए। दीपकराजले भने,‘दुईजना थिए भन्छ, एकजनालाई मात्रै चिनेको छु भनेको छ।

चिनेका ती व्यक्ति वडा कार्यालयका कर्मचारी। अर्को मान्छेलाई चिन्न सकेन, चिन्न नसकेको दाह्री पालेको थियो। मास्क लगाको थियो’ दिनेशलाई उदृत गर्दै उनले भने,‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौं,घरपरिवार पनि मार्छौं भनेर दिनेशलाई भनेका रहेछन्। उनीहरू मोटरसाइकलमा खोचलेकतिर फर्किएका रहेछन्।’ दिनेशले कर्मचारीको नामै किटान गरेर भनेकोले आफूहरू पनि असुरक्षित भएको उनले बताए।