८ बैशाख २०८१, शनिबार

मतदाता र कार्यकर्ताको भावना बुझेर ओली पक्षमा लागेँ : सांसद कृष्णभक्त

Krishnabhakta pokharel
फाइल फोटो

चितवनका सांसद कृष्णभक्त पोखरेलले चितवनका मददाता र कार्यकर्ताहरुको भावना बुझेर नेकपा एमालेमा फर्किएको बताएका छन् ।

सांसद पोखरेलले भने, ‘चितवनमा मलाई भोट दिने कार्यकर्ता र मतदाताको भावना बुझेर म ओली पक्षमा लागेको हो ।

’पार्टीका बैठकमा नजाने वरिष्ठ नेता माधव नेपालको प्रवृत्ति मन नपरेको उनले बताएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दलको बैठक र पार्टीको बैठकमा नगएर माधव नेपालले गल्ती गरेको विचार राखे । उनले भने, ‘संसदीय दलको बैठकमा नजादा संसदको महत्व नै रहँदैन । अदालतले एमाले नै बनाएपछि पार्टीको बैठकमा पनि उहाँ जानुपर्छ भन्ने मेरो विचार छ ।’

उनले सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग गरेपछि आफूहरु एमाले नै भएको बताए । उनले भने, ‘म एमाले नै हो कहीँ गएको छैन । हामी नेकपा एमालेमा नै लाग्यौं । पार्टीको संसदीय दलको बैठकमा जानैपर्छ भनेर पाँच जना लिएर बालुवाटार गएको हो ।’ उनले जनताले केपी शर्मा ओलीको नामका कारण भोट दिएको पनि बताए ।

नाकाबन्दीमा नझुकेर र अतिक्रमित भूभागसहित नक्सा सार्वजनिक गरेकै कारणले ओलीको लोकप्रियता बढेको उनले बताए । उनले भने, ‘ ओलीतिर भविष्य देखेर आएको हैन । मलाई मन्त्री बन्ने कुनै रहर छैन, पार्टीलाई एकताबद्ध गर्ने मेरो ध्येय हो ।’ कार्यकर्ताको ठूलो पंक्ति ओली तिर भएकोले सबैको कृष्णभक्त मूल धारमा आइदिए हुन्थ्यो भन्ने रहेको बताए । उनले भने, ‘सरकारमा रहेको पार्टीको मूल नेतृत्वलाई सहयोग गरेर सरकारलाई प्रभावकारी बनाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’ उनले निर्वाचन क्षेत्रमा धेरै साथीहरुले टुहुरा भयौं हामी भनेको पनि बताए । उनले भने, ‘ मैले प्रधानमन्त्री ज्यूलाई एकपटक टेलिफोन गरेको छैन । छुट्टै भेटेको पनि छैन । एमालेलाई बलियो बनाउने बाहेक मन्त्री बन्ने वा अन्य चाहना छैन । ’