११ बैशाख २०८१, मंगलवार

नमोबुद्ध नगरपालिकामा १२१ को मोतियाविन्दु शल्यक्रिया

cataract motibindu

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा शुक्रबार सम्पन्न भएको आँखा शिविरमा १२१ को मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नमोबुद्ध नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरी र लियो क्लब अफ काठमाडौँ टेम्पल चण्डेश्वरीको संयुक्त सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा दुईदिने शिविरमा नगरपालिकाका नागरिकहरूले सो सेवा लिएका हुन् । शल्यक्रिया शिविर सञ्चालन गर्नु अगाडि नमोबुद्ध नगरपालिकाका विभिन्न सात स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

सो क्रममा एक हजार २७० जनाको आँखा परीक्षण र उपचार गरिएकोमा १७४ को शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । त्यसबेला मोतियाविन्दु पत्ता लागेका बिरामीको दुई दिनसम्म रेयुकाई आँखा अस्पताल बनेपाको भकुण्डेस्थित सेवा केन्द्रमा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । दुई दिनसम्म सञ्चालन भएको शिविरमा शल्यक्रिया गर्न नभ्याएका बाँकी बिरामीले रेयुकाई आँखा अस्पताल बनेपामा लगेर निःशुल्क शल्यक्रिया गराउन सक्ने नगरपालिकाले जनाएको छ ।

आँखाको शल्यक्रिया गर्न बाँकी ५३ लाई सो सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । अस्पतालको भकुण्डेबेँसी सेवा केन्द्रमा पहिलोपटक यतिधेरै बिरामीको एकै पटक मोतियाविन्दुको शल्यक्रिया गरेको रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाका महासचिव हिरामणि शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन ५२ र दोस्रो दिन ६९ को शल्यक्रिया गरिएको हो ।

नमोबुद्ध नगरपालिकाले विगतदेखि नै नगरभित्र मोतियाविन्दु न्यूनीकरण अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानबाट नगरका सयौँ मोतियाविन्दुका बिरामी लाभान्वित भएका छन् ।