८ बैशाख २०८१, शनिबार

कफीमा अनौठो ठगी : मोटोपन घटाउने बहानामा किलोको रु ४० हजारसम्ममा विक्री

greencoffee1616156741

बिनाऔषधि मोटोपन घटाउने अचुक उपाए भन्दै ठाउँठाउँमा विज्ञापन सुनिन्छ । तौल घट्ने लोभमा विज्ञापनबाट प्रभावित भएर कतिपय मानिसले उपचार पनि गराएका छन् । कतै तपाई पनि त्यस्तो लोभमा फस्नु भएको त छैन ? बेलैमा होसियारी नअपनाए तपाई ठगीमा पर्न सक्नुहुने छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झण्डै डेढ महिना लगाएर अनुसन्धान गरी त्यस्तै ठगीको एउटा सञ्जाल कै पर्दाफास गरेको छ । रसियन नागरिकको सहयोगमा नेपाल, भारत र रसियामा समेत उनीहरूको सञ्जाल विस्तार भएको पाइएको सीआईबीका निर्देशक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उक्त घटनामा कास्कीको पोखरा घर भई काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने वान सप्लायर्स प्रालिका सञ्चालक वर्ष ४२ का आशिष आचार्य र रसियन नागरिक इगोर कुसलाई पक्राउ गरिएको छ ।

उनीहरू मिलेर ग्रीन कफीले महिनामा १३ किलोसम्म तौल घटाउँछ भन्दै प्रचारप्रसार गरेर ठगी गरेको प्रहरीले जनाएको छ । निर्देशक तथा प्रहरी नायब महानिरीक्षक थापाका अनुसार उनीहरूले हरियो कफी प्रतिकिलो रु ९६० मा नेपालभित्रै खरिद गरी रु २० हजारदेखि रु ४० हजारसम्ममा विक्री गर्ने गरेको खुलेको छ ।

नियमित सेवन गरेमा त्यसबाट शरीरलाई फाइदा हुने भनी भ्रमपूर्ण विज्ञापन बनाएर प्रचार गर्ने गरेका थिए । औषधि, व्यायाम, डाइटिङ र नकारात्मक असरबिना वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन, प्रकाशित प्रसारित गरेर चर्काे मूल्यमा कफी बेच्दै आएका थिए । सामाजिक सञ्जालमा यस्ता विज्ञापन रसियाबाट प्रकाशित गर्ने गरेको फेला परेको छ ।

उनीहरूले सामाजिक सञ्जाललाई अधिकतम उपयोग गरेको पाइएको छ । आचार्यले उक्त कम्पनीबाट ६०० डलर मासिक रकम लिने गरेको समेत बुझ्न आएको छ । उनीहरूले यस्तो व्यापार गत कात्तिकदेखि शुरु गरेका थिए । त्यसयता झण्डै रु सात करोडको कारोबार भएको अनुमान प्रहरीको छ ।

उनीहरूको साथबाट हरियो कफी ६४४ किलो, विक्रीका लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफी दुई हजार ८२२ प्याकेट, ल्यापटप २५ थान बरामद गरिएको छ । त्यस्तै रसियन नागरिक कुसको कोठाबाट रु तीन लाख ९७ हजार नगदसमेत बरामद भएको छ ।

उनीहरूले उक्त सामान विक्रीका लागि अनुमति नै नलिई अवैध काम गरेको खुल्न आएको छ । यसरी सामाजिक सञ्जालको प्रयोग गरी नेपाल, भारत र रसियामा समेत नेटवर्क बनाएर विक्री गरेको खुल्न आएको सीआईबीका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । उहाँका अनुसार प्रयोकर्ताहरूसँग बुझ्दा कुनै सकारात्मक फाइदा नभएको बरु उल्टै पेट फुल्ने वाकवाकी लाग्ने घटना भएको पाइएको छ ।

फेक विज्ञापन सामाजिक सञ्जालमा देखेपछि ब्यूरोले उक्त घटना पर्दाफास गर्न ग्राहक बनेर अनुसन्धान गरेको थियो । नगद रु सात हजार ९०० मा सय÷सय ग्रामको तीन वटा प्याकेट किनेर अनुसन्धान गर्दा फेक काम गरेको प्रमाणित भएपछि ठगी मुद्दामा पक्राउ गरिएको पन्तले बताउनुभयो । उनीहरूले १०० ग्राम कफीको रु चार हजार ५०० सम्म लिने गरेको फेला परेको छ । मुलुकी अपराध संहितामा ठगी प्रमाणित भए सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार...