६ आश्विन २०७८, बुधबार

जनगणनाको लागि कार्यालय स्थापना

cbs nepal census

सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विसं २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागबाट सर्लाही जिल्लाका लागि खटिनु भएका पोखरेलले बताउनुभयो ।

जिल्ला स्तरीय कार्यालय स्थापना गरी विसं २०७८ को जिल्लाको जनगणना कार्यको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । यस्तै, आगामी वैशाख १ गतेबाट सञ्चालन हुने गरी लालबन्दी, मलंगवा, कविलासी, गोडैता, ईश्वरपुर र बरहथवा नगरपालिकामा स्थानीय जनगणना कार्यालय खोलिने पोखरेलले बताउनुभयो । उहाँका अनुसार कार्यालयसँग सीमित बजेट र कर्मचारी भएकाले जिल्लाका स्थानीय तहसँग समन्वय गरी जनगणना कार्य अघि बढाइने बताइएको छ ।

जनगणनाका लागि सुपरीवेक्षक र गणक करारमा नियुक्ति गर्न सरकारले चैत ११ गतेसम्मका लागि अनलाइन विज्ञापन गरिएको कार्यालयले जनाएको छ । केही दिन कार्यालयको व्यवस्थापन, स्थानीय तह तथा जनगणना समन्वय समितिको पदाधिकारी रहेका जिल्लास्थित विभिन्न कार्यालयलाई पत्राचार गर्ने कार्यमै ब्यस्त हुने पोखरेलले बताउनुभयो ।

नेपालमा हरेक १० वर्षको अन्तरालमा राष्ट्रिय जनगणना हुने गरेको छ । सोही अनुसार विसं २०७८ मा हुने जनगणना अन्तर्गत सुपरीवेक्षकले वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्ने र गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशभर जनगणनाको कार्य गर्ने कार्यालयले जनाएको छ ।