fbpx
८ बैशाख २०७८, बुधबार

अश्लील शब्द मिश्रित भोजपुरी गीतका कारण मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै

फाइल फोटो

‘जोगिरा सररर …’ कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग कौन तालपर गौरिया नाचे, कौन तालपर हम जोगिरा सररर …’ तराई–मधेशमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ ।

यो मौलिक गीत मधेशका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ । फागु आउन १५ दिनअघिदेखि धनुषा सहित तराई–मधेशमा गुञ्जिने गीतहरू अहिले सुनिन छाडेका छन् । क्षीरेश्वरनाथ नगरपालिका–५ का ६७ वर्षीय रामसागर ठाकुर लगायत जोगिरा गायकहरु वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा दुःखी छन् ।

ठाकुरले भन्नुभयो, “होली पर्वको आगमनसँगै कुनै बेला गाउँघरमा राति गुञ्जिने होली गीत अचेल सुनिँदैन । उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न त ढोल, मृदङ्ग नै बज्छन् न त फागु गीत नै गुञ्जिन्छन् ।” संस्कृतिविद् रामभरोस कापडी भन्नुहुन्छ, “एक दशकअघिसम्म फागु पूर्णिमा वा होलीमा गुञ्जिने गरेको ‘जोगिरा सरर’लगायत गीतसँगै होलीको परम्परागत मौलिकता समेत हराउँदै गएको छ ।” उहाँले तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र सङ्गीत पनि लोप हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अवधि, भोजपुरी समुदायमा बजाइने ढोलक, हरमुनिया, तबला लगायत बाजा र होलीमा गाइने परम्परागत गीतहरू पछिल्ला पुस्ताले छाड्दै गएका छन् ।” वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत ग्रामीण क्षेत्रबाट हराउन थालेकामा मिथिला नगरपालिका–६ का ७० वर्षीय बिल्टु चौधरीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “पहिलेपहिले गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भइसकेको गीत मार्फत जनाउ दिने गर्थे तर अब न त ढोल, मृदङ्ग नै बजाउन पाइयो, न फागु गीत नै गाउन पाइयो ।”

चौधरीका अनुसार परापूर्वकालदेखि ग्रामीण क्षेत्रमा रहेको दलान संस्कृति हराउँदै गएकाले होलीमा गाइने फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो । “पुरानो सामाजिक संरचना ध्वस्त भई यसको स्थानमा आधुनिकता र यान्त्रिकीकरण हाबी हुँदा फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो”, मैथिली भाषाका साहित्यकार उत्तिमलाल कापडीले भन्नुभयो, “वैदेशिक रोजगार र आधुनिक शिक्षाका लागि ग्रामीण क्षेत्रबाट लाखौँको सङ्ख्यामा युवा विस्थापित भएर यस्तो समस्या आएको हो ।” कापडीले सांस्कृतिक पर्व होली आउन दुई साता बाँकी हुँदै साथीभाइहरू मिलेर गीत÷सङ्गीत, कविता, हास्यव्यङ्ग्यका कार्यक्रम गरी मनाइन्थ्यो तर अहिले भने ती सबै कुरा सपनाजस्तो लाग्न थालेको भन्नुभयो । पण्डित लालबाबु झाका अनुसार होली आउन १५ दिनअगावै पण्डितहरूले विधिवत्रूपमा पूजापाठ गरी शुरुआत गरिने चलन थियो । झाले भन्नुभयो, “गाउँगाउँका युवाहरूले घरघरबाट गुइँठा (गोबर) सङ्कलन गरी राति बालेर गीत गाउने चलन थियो । होलीको एक दिनअघि ठाउँठाउँबाट चोरिएका दाउरा राति बालेर होलिकाको दहन गर्ने चलन थियो ।”

मिथिला संस्कृतिका जानकार ७० वर्षीय रमापति चौधरीका अनुसार होलिका दहनको खरानी पोत्ने र बिहान नुहाउने र बिहान ९ बजेपछि एकापसमा शुभकामना साटासाट गरी रङ लगाएर रमाइलो गरी खेलिने होलीको अहिले भने त्यो मौलिकता हराउँदै गएको छ । चौधरीले भन्नुभयो, “मूल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासँगै बढाउन सकिएन । त्यसले अहिले क्रमशः मिथिलाबाट परम्परागत संस्कृतिहरू विलीन हुँदै गएका छन् ।” पाँच÷छ दशकयता सामाजिक आन्दोलनसमेत नभएकाले मिथिलाका मौलिकता हराउँदै गएको उहाँको कथन रहेको छ । अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण बन्दै गएको छ ।

भाङको ठाउँमा मदिरा, प्रेम सद्भावको ठाउँमा द्वेष देखा परेकाले जोगिरा गीत पनि प्रभावित भई रङबिनाको होली र माधुर्यविनाको जोगिरा हुन गएको भनेर टिप्पणी गर्नुहुन्छ, जनकपुरधामका अवकाश प्राप्त सिडिओ ७१ वर्षीय राजेन्द्र झा । झाको अनुसार फाट्टफुट्टरुपमा फागु पूर्णिमाको पहिलो दिन अर्थात् चतुर्दशीको रात होलिकालाई निर्जन स्थानमा लगी गाउँ देहातका मानिस त्यहाँ भेला भएर मृदङ्ग, ढोल बजाई होलिका दहन गर्ने परम्परा चाहिँ देखिएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झाले अहिले शहर बजार तथा ग्रामीण क्षेत्रमा होली गीत जोगिरासम्बन्धी अश्लील शब्द मिश्रित भोजपुरी गीति एल्बम छ्याप्छ्याप्ती पाउनाले पनि जोगिरा संस्कृतिमाथि मार परेको बताउनुभयो । महेन्द्रनगरका शङ्कर झाले भन्नुभयोे, “पहिले पहिले त गाउँको बीचमा रहेको कुनै ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाइन्थ्यो तर अब जोगिरा नसुनेको पनि धैरै भयो । आफूहरुले गर्दै आएको कीर्तन भजनमा भने होली गीत गाउने गरेको छु ।”

धनुषा जिल्ला समन्वय समितिका सभापति ६१ वर्षीय रामदेव यादवले समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको बताउनुभयो । यादवले भन्नुभयो, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै ।” अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उहाँको भनाइ छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ६५ वर्षीय रामजी सिंहले भन्नुहुन्छ, “अहिले बजारमा पाइने जोगिराका अश्लील संस्करणहरुले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन् । आधुनिकताले पुरानो परम्परा लोप हुँदै गएको छ । उहाँका अनुसार सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ र यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ । पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लिल भोजपुरी गीत बढी गाउन थालिएको छ ।

जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले जोगिरा संरक्षणका लागि विगत केही वर्षदेखि जानकी मन्दिर प्राङ्गणमा जोगिरा प्रतियोगिताको आयोजना गर्नाका साथै हास्यव्यङ्ग अन्तर्गत महामूर्ख सम्मेलनसमेतको आयोजना गर्दै आएको छ । होली पर्व आउन दुई हप्तामात्र बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले यसको संरक्षणमा युवा वर्गअगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।