१३ बैशाख २०८१, बिहीबार

लेस्टर सिटी र चेल्सी २-२ को बराबरीमा रोकिए

chelsea vs

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लेस्टर सिटी र चेल्सीले बराबरी खेलेका छन्। लेस्टरको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी र सिटीले २-२ गोलको बराबरी खेलेका हुन्।

लेस्टरको घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमै चेल्सीका एन्टोनियो रोडिगरले गोल गर्दै सुरुवाती अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए।

 ६४ औं मिनेटमा लेस्टरकै बेन चिवेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, लेस्टरको अग्रता धेरैबेर टिक्न सकेन। खेलको ७१ औं मिनेटमा चेल्सीका एन्टोनियोले व्यक्तिगत दोस्रो गोल गरेर नतिजालाई पुनः बराबरी बनाए।

यो बराबरी सँगै लेस्टरको अंकतालिकाको दोस्रो स्थानमा रहेको मेन्चेस्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमाउन पुग्यो।

बराबरीसँगै २५ खेलमा ४९ अंक जोडेको लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा छ भने समान खेलबाट ४१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ।

लिग लिडर लिभरपुलको २४ खेलबाट ७० अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ तथा पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३४ अंक छ।