१३ बैशाख २०८१, बिहीबार

माओवादीले जसपा र कांग्रेससंग मिलेर सरकार बनाउन सक्ने

prachanda maobadi perisdanda

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ ।

उहाँका अनुसार राष्ट्रिय सभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ । बैठकले प्रतिनिधि सभाका चार र राष्ट्रिय सभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा (एमाले)मा रहेका उहाँहरू सहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले समेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरी माओवादी केन्द्र र नेकपा (एमाले) पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ ।

बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिनुभयो । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेको समेत उहाँले जानकारी दिनुभयो । बैठकको शुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्त रुपमा जानकारी गराउनु भएको थियो ।

बैठकमा उहाँले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराउनुभएको नेता पुनले बताउनुभयो । बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ ।