८ बैशाख २०८१, शनिबार

“भोलिको भेलामा एक नजर राखिनेछ” : अध्यक्ष ओली

kp sharma oli pm

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न नगराउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उहाँले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गर्नुभयो ।

“एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन-नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।” पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहँु खोजिरहेको उहाँले बताउनुभयो ।

पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राख्नुभयो । “पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन”, उहाँले भन्नुभयो, “पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।” बुधबार र विहिबार काठमाडौमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछन् । एक थरी पार्टीका साथीहरुले चियापान नदेखेको भन्दै उहाँले भन्नुभयो, “पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरु कसको निमन्त्रणमा जानुहुन्छ त ?”

उहाँले पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनु राम्रो लक्षण नभएको स्पष्ट पार्दै भोलिको भेला स्थगित गर्ने केही समय बाँकी रहेकोले स्थगन गर्न आग्रह गर्नुभयो । “अझ केही समय वाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि हुदैन उहाँहरुले,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “भोलिको भेलामा कति तमासा गर्नुहुन्छ । एक नजर त्यता राखिनेछ ।” उहाँले कसैले पार्टीलाई धम्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो नसोच्न समेत आग्रह गर्नुभयो । उहाँले सत्यसँग नलड्ने र निहुँ खोज्नेसँग नझुक्ने समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले एमालेमा रहेका नेता तथा कार्यकतालाई अन्याय नगर्नेसमेत बताउनुभयो । “पार्टीमा कसैमाथि पनि अन्याय हँुदैन । ठूला ठूला अपराध भएका छन् तर पनि एउटा फराकिलो हृदय लिएका छौँ”, उहाँले भन्नुभयो, “एकदम अपराध गर्नेलाई पनि स्वागत छ भनेर म भन्दिनँ । तर सच्चिएर आउनेलाई पार्टीमा काम गर्नका लागि स्वीकार र्छौं ।” उहाँले संसद् देश र जनताको हितमा काम गर्ने थलोका रुपमा भए पनि काम गर्न नपाएको धारणा राख्नुभयो ।

“संसद्लाई स्वार्थको खिचातानीको थलो होइन, दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाऔँ”, उहाँले भन्नुभयो, “तर संसद्लाई त्यसरी चलाइएको र चलाउन दिइएको छैन ।” चियापानमा एमालेका केन्द्रीय सदस्य तथा सांसद उपस्थित भएका थिए । चियापानमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी भएन ।