
नेपाल राष्ट्र बैंकले शुक्रबार एउटा सूचना जारी गर्दै सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा विज्ञापन गर्नु गैरकानुनी बाटअएको छ र यस्ता कार्य गरेमा कारबाही हुनेछ। सामाजिक सञ्जालमा हुने विज्ञापनमा विदेशी मुद्रामा अवैधानिक च्यानलमार्फत भुक्तानी हुने भन्दै विदेशी विनिमय व्यवस्था विभागले यस्तो भुक्तानी नगर्न सचेत गराएको छ ।
विदेशी विनिमय ऐनमा सरकारी निकायको अनुमति नलिई गरेको विनिमयको कारोबार जफत गर्न सक्ने र बिगोको तीन गुणासम्म जरिवाना गर्न सक्ने प्रावधान छ । यस्तै बिगो नखुल्ने कारोबार भए कसुरको मात्रा हेरी दुई लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।
नेपालबाट सामाजिक सञ्जालहरू फेसबुक र युट्युबमा धेरै विज्ञापन हुने गरेको छ। ठूला व्यवासायिक फर्म, अनलाइन कारोबार गर्ने कम्पनीहरू तथा शैक्षिक प्रतिष्ठानहरूले सामाजिक सञ्जालमा धेरै विज्ञापन गर्ने गरेका छन्। आमसञ्चारका माध्यमहरूले पनि आफ्ना विषयवस्तु सामाजिक सञ्जालमा खर्च गरेरै प्रचार गर्ने गरेका छन्। त्यसैलाई नियन्त्रणका लागि सरकारले नयाँ कदम चालेको हो।
विज्ञप्तिमा भनिएको छ ‘सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी हो,’| यस्ता कारोवारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा बताइएको छ ।

‘नेपालको कानुनले परिभाषित नगरेको क्षेत्रमा विदेशी मुद्रा भुक्तानी बढ्दै गएको पाइएपछि अर्थ मन्त्रालयसँगको छलफलपछि यस्तो सूचना प्रकाशित गरिएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो।
‘नेपालबाट त्यस्ता सामाजिक सञ्जालमा कति रकमको विज्ञापन हुन्छ र कति विदेशी मुद्रा नेपालबाट बाहिर जान्छ भन्ने कुनै हिसाब हुँदैन,’ राष्ट्र बैंकका एक अधिकृतले भने, ‘यसरी पैसा दिनु गैरकानुनी हो भन्ने जान्दाजान्दै पनि कतिपय कम्पनीहरुले भुक्तानी दिइरहेका छन्, त्यसैलाई नियन्त्रण गर्न खोजिएको हो।’
अर्थ मन्त्रालयले डेढ वर्ष अघिदेखि तयारी थाले पनि यकिन तथ्यांक उपलब्ध नहुँदा सरकारले कारबाही अघि बढाउन सकेको थिएन। अर्थ मन्त्रालयले यसअघि नै सामाजिक सञ्जालमा विज्ञापन वापत हुने यस्ता भुक्तानीलाई सम्बन्धित कम्पनीको खर्चमा देखाउन नमिल्ने व्यवस्था गर्ने समेत जनाइसकेको छ।
‘नेपालबाट पैसा बाहिरिन नदिन हामीले केही उपाय गर्नुपर्छ भनेर सोचेका हौं, अहिले त्यसैको तयारीस्वरुप राष्ट्र बैंकबाट निर्देशन आएको छ,’ अर्थका एक अधिकारीले भने, ‘हामी पनि कडाइ गर्छौं।
सामाजिक सञ्जालमा विज्ञापन गर्न चाहनेलाई औपचारिक माध्यमबाट भुक्तानी गर्ने प्रणाली पनि भएको उनले बताए । ‘तीन हजारसम्मको भुक्तानीका लागि बैंकबाटै तिर्न सकिन्छ,’ उनले भने, ‘तीनदेखि १० हजार रुपैयाँसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा बैंकबाट भुक्तानी गर्न सकिन्छ ।’ उनका अनुसार १० हजारभन्दा माथिको भुक्तानीका लागि राष्ट्र बैंकको सिफारिस आवश्यक पर्छ । यो प्रक्रिया पूरा नगरे कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको हो ।