१५ चैत्र २०८०, बिहीबार

असिना पानीले नवलपुर क्षेत्रमा दुई करोडको इँटा नष्ट, ४० लाख काँचो इँटामा क्षति

itta udhyog

नवलपरासी–९बर्दघाट सुस्तापूर्व नवलपुरमा असिना पानीका कारण करिब दुई करोड बराबरको इँटा नष्ट भएको छ ।

गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा एक करोड ८० लाख बराबरको क्षति पुगेको हो ।

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा संघका सचिव कृष्ण गौतमले जानकारी दिए । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए । ‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो’, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भने, ‘पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।’

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा संघका सचिव गौतमले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए ।

पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा बर्सेनि इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए । अन्य व्यवसायको बिमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग संघका अध्यक्षसमेत रहेका गौतमले बताए । बिमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।

पोल्नेको लागि तयार भएका इँटा पानीले नष्ट हँदा बजारमा इँटाको अभावसमेत हुने उनले बताए । यो समयमा इँटाको माग उच्च रहेका अवस्थामा पोल्नका लागि तयारी इँटा नष्ट हुँदा फेरि तयार गर्न समय लाग्ने उनले जानकारी दिए ।

नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् ।