४ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री केपी ओलीले भने: मलाई ठेगान लगाउन आउनेलाई बाटैमा ठेस लाग्छ

kp oli address scaled
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले आफूलाई ठेगान लगाउन आउनेलाई बाटैमा ठेस लाग्ने बताएका छन् ।

१११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘ बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’ तर केपी ओलीलाई ठेगान लगाउँछौं भन्ने वक्तव्यबाजी भएको आफूले सुनेको भन्दै उनले भने, ‘केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने बाटैमा ठेस लाग्छ ।’

चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई उनले आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे । उनले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।’

‘७ गते केन्द्रीय कमिटी बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’ आफूलाई पार्टीको साधारण सदस्यबाट निकालेको भन पनि आफूले कसैलाई कतैबाट ननिकालेको उनले बताए । तर पार्टीको कामलाई अगाडि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको भन्दै उनले अरु नेताहरु आएपछि सल्लाह गरेर अगाडि बढ्ने बताए ।