१२ बैशाख २०८१, बुधबार

चार महिनाभित्र ‘उज्यालो तनहुँ’

tanahu 1

जिल्लालाई आगामी चार महिनाभित्र अन्धकारमुक्त बनाउने लक्ष्य राखिएको छ । विद्युत् विस्तारका लागि डेढ वर्षे प्रोजेक्ट शुरु भए पनि बाढीपहिरो र कोरोनाका कारण सम्झौताअनुरुप काम गर्न नसकिएपछि पुनः चार महिनाभित्र उज्यालो तनहुँ बनाउन लागिएको हो ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ स्थित झापुटारमा १४० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाद्वारा प्रभावित भएका क्षेत्रमा विद्युत् विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको देवघाट गाउँपालिका–२ अन्तर्गत खाल्टे, कोटबैदी, छिपछिपे, जामडाँडा, नराङ्गा, थामडाँडालगायत क्षेत्रमा अझै विद्युत् लाइन विस्तार गर्न बाँकी छ ।

यही फागुनमा सम्झौता अवधि समाप्त भइसकेको आयोजना व्यवस्था निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार (तनहुँ विद्युतीकरण आयोजनाका) साइड इञ्चार्ज लक्ष्मणप्रसाद रेग्मीले बताउनुभयो । सडकको पहुँच नपुगेका कारण सामान ढुवानीमा कठिनाइ भएकाले सम्पूर्ण सामान मानिसले नै बोकेर लैजानुपर्ने भएकाले तोकिएको अवधिमा काम गर्न गाह्रो भएको जनाइएको छ ।

आयोजनाले विद्युत् लाइन विस्तार गर्नुपर्ने अधिकांश क्षेत्रमा लाइन जडान सम्पन्न गर्दै बत्ती बाल्न शुरु गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लाको आँबुखैरेनी–६ स्थित भलडाँडामा ११ केभी प्रसारण लाइन निर्माण गरी केन्द्रीय प्रसारण लाइनमा जोडेर विद्युत् विस्तार गरिएको छ । विद्युत् लाइन जडान पश्चात करीब ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

त्यसैगरी घिरिङ गाउँपालिका–४ अन्तर्गत गड्यौलीटार र वनटारका गरी २५० घरधुरी लाभान्वित भएका छन् । देवघाट गाउँपालिका–१ को कालीटार, कोटा, गोपीटार र देवघाट–५को साउने पानीमा ट्रान्सफरमा क्षमता वृद्धि गरी विद्युत् जडान गरिएको छ ।

विद्युत् जडानपश्चात् त्यस क्षेत्रका करीब ५०० घरधुरी लाभान्वित भएका छन् । बन्दीपुर गाउँपालिका–६ स्थित सराङघाट र घिरिङगाउँपालिका–४ को सामुङमा कूल रु तीन करोड बढीको लागतमा सव–स्टेशन निर्माण गरिएको बताइएको छ । घिरिङ गाउँपालिकाको अन्य क्षेत्रमा बिजुली पुगे पनि गड्यौलीटार, वनटारमा पु¥याउन नसकिएकाले केही समयअघि मात्रै विद्युत् जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करीब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगिसकेको प्राधिकरणका सूचना अधिकारी लोकेन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण तनहुँबाट मात्रै करीब ३६ हजार घरधुरीमा विद्युत् लाइन विस्तार भइसकेको प्राधिकरणले जनाएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले प्रभावित भएका घरपरिवारलाई पहिलो स्थानमा राखेर विकास भइरहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली विस्तारको लागि विद्युत् पोल गाड्ने, लाइन विस्तार र सव–स्टेशन निर्माणलगायतका कार्य दु्रतगतिमा अघि बढाइएको लाइन निर्माण कम्पनी इष्ट इण्डिया उद्योग लिमिटेडका साइड इञ्चार्ज रोशनकुमार भट्टले बताउनुभयो ।

विसं २०६८ को जनगणनाअनुसार तनहुँको जनसङ्ख्या तीन लाख २३ हजार २८८ रहेको छ । जसमा ७८ हजार ३०९ घरधुरी रहेका छन् भने दुई हजार ३६२ बस्तीमा छरिएर रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ

ब्यासमूर्ति बनाउन बोलपत्र

ब्यासको जन्मभूमि दमौलीमा १०८ फिटको ब्यासमूर्ति निर्माणका लागि ब्यास नगरपालिकाले बोलपत्र आह्वान गरेको छ । ब्यासभूमिलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित ब्यासमूर्ति निर्माणका लागि नगरपालिकाले आज बोलपत्र प्रकाशन गरेको हो । गुरुयोजनानुसारको रु आठ करोड १४ लाख पाँच हजार ८१ को बोलपत्र प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । बोलपत्रको म्याद एक महिना छ ।

मूर्ति निर्माणका लागि ब्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख र नगरपालिकाले रु दुई करोड ४५ लाख साझेदारी गर्नेछन् । ब्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले नगरपालिकाको तर्फबाट बोलपत्र प्रकाशन भएपछि मूर्ति निर्माणको कामले गति लिने बताउनुभयो ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरबाट आउने बाटो निर्माण गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्यप्रवेशद्वारको केही काम गरिएको छ ।

गुरुयोजनानुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान छ ।

मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । ब्यासको मूर्ति अड्याउनका लागि तीन तलाको निर्माण गरिनेछ । स्तम्भ निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ ।

ब्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यकपर्ने अनुमान छ । स्तम्भभित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनानुसार ब्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, ब्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ साना ब्यासका मूर्ति, ब्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्छ ।

अपाङ्गतालाई रेडक्रसद्वारा रु ४८ लाख सहयोग

नेपाल रेडक्रस सोसाइटीले अपाङ्गता भएका व्यक्तिलाई रु ४८ लाख ५० हजार सहयोग गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रस सोसाइटी तनहुँ शाखाले जिल्लाको ऋषिङ गाउँपालिकाका २८० लाई रु ४८ लाख ५० हजार सहयोग गरेको हो । समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण कार्यक्रमअन्तर्गत सशर्त व्यवसाय गर्ने २०५ जनालाई रु २० हजारका दरले रु ४१ लाख र निःस्वार्थरुपमा व्यवसाय गर्दै जीविकोपार्जनका लागि ७५ जनालाई रु दश हजारका दरले रु सात लाख ५० हजार वितरण गरिएको रेडक्रस तनहुँकामन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । “अपाङ्गता भएकालाई व्यक्तिलाई समुदायमा सशक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्यबमोजिम उक्त रकम सहयोग गरिएको हो”, पोख्रेलले भन्नुभयो ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रेडक्रसको सहयोग अभियानले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो । तनहुँ शाखा सभापति कृष्णहरि वाग्लेले समुदायमा अपाङ्गता भएका व्यक्तिलाई सवलीकरण गरी आर्थिक उपार्जनका लागि रेडक्रसले विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

मिर्गौलापीडितलाई सहयोग

ब्यास नगरपालिका–१४ केशवटार निवासी दुवै मिर्गौलापीडित मेगीसरा थापाको उपचारका लागि रु एक लाख ३७ हजार ६३८ हस्तान्तरण गरिएको छ । दमौली केशवटार समाजको पहलमा सङ्कलन भएको उक्त रकम मिर्गौलापीडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।

समाजका आर्थिक सङ्कलन समितिका संयोजक युवराज आलेले मिर्गौलापीडितका श्रीमान खेमबहादुर थापालाई रकम हस्तान्तरण गर्दै थप रकम सङ्कलनको अभियान जारी रहेको बताउनुभयो । समाजले दुई हप्ताको अवधिमा उक्त रकम जुटाएको हो । स्वदेश तथा विदेशबाट सहयोग सङ्कलन आउने क्रम जारी रहेको आलेले जानकारी दिनुभयो ।

मिर्गौलापीडितका श्रीमान खेमबहादुरले श्रीमतीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि ठूलो रकम आवश्यकपर्ने भएकाले सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो । “घरको आर्थिक अवस्था पनि कमजोर छ, परिवारकै सदस्यको मिर्गौला प्रत्यारोपणका लागि पनि ठूलो रकम आवश्यक पर्दोरहेछ”, उहाँले भन्नुभयो । मिर्गौलापीडित मेगीसराको चितवनस्थित पुरानो मेडिकल कलेजमा डायलासिस भइरहेको छ । बिरामी भएर औषधि सेवन गरिरहेको समयमै एक वर्ष अगाडि परीक्षण गराउँदा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।

ब्यास नगरपालिका–१४ घर भई मिर्गौलापीडित भएकाको लागि समाजले आर्थिक सङ्कलन हुँदै आएको छ । यस अगाडि दुवै मिर्गौला फेल भएका सन्तोष रानामगरको उपचारका लागि समाजको पहलमा रु ३१ लाखभन्दा बढी रकम सङ्कलन भएको थियो । “वडावासीको दुःखमा मलम लगाउन समाजले आर्थिक सहयोग सङ्कलन अभियान चलाउँदै आएको छ । सन्तोष रानाको उपचारका लागि पनि देश तथा विदेशबाट राम्रो रकम सङ्कलन भयो”, संयोजक आलेले भन्नुभयो ।