१५ चैत्र २०८०, बिहीबार

सरकारी कर्मचारी कुटपिट गर्नेविरुद्ध किटानी जाहेरी दिदा समेत कारवाही नभएपछी आक्रोश व्यक्त

gang fight
सांकेतिक तस्विर

सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति वडा नं १ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको माग गरेको छ ।

घटना भएको नौ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमि समेतलाई सम्पूर्ण प्रमाण सहित किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै पक्राउ गरी कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले आपत्ति जनाएका छन् ।

सूर्यविनायक नगरपालिका–२ वडा कार्यालय बालकोटले सिमेन्टको पोल लगाई तारबार घेरेर संरक्षण गरिएको कित्ता नं ३२ र ३३ को सार्वजनिक पर्ती जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन माग गर्दै नगरपालिकामा निवेदन दिएपछि प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाको टोली खटाएर जग्गा खाली गराई प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो ।

यही फागुन १७ गते नगरपालिकाका नक्शा शाखाका इञ्जिनीयर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत सुरज पौडेल, नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी, सहायक निरीक्षक वीरबहादुर अधिकारी, हवल्दारद्वय शम्भु खत्री तथा किशोर थापा र नगर प्रहरी रविना श्रेष्ठले अतिक्रमित जग्गामा बनेको घरटहरा हटाउन खोज्दा कुटपिट गरी लछारपछार गरेका थिए ।

उक्त घरटहरा हटाउन पटकपटक सूचना जारी गरेको र सोही क्षेत्रमा गएर भन्दासमेत अटेर गरेपछि नगरपालिकाको टोली घरटहरा भत्काउन जाँदा कर्मचारीलाई कुटपिट भएपछि प्रहरीलाई खबर गर्दा समेत प्रहरी ढिलो आएर सुरक्षा नदिएको कर्मचारीको गुनासो छ । पटकपटक दिएको सूचना अटेर गरेपछि नगरपालिकाको आदेशमा टहरा भत्काउन गएको बताउँदै कुटपिटबाट घाइते हुनु भएका अधिकृत पौडेलले अतिक्रमण गर्ने व्यक्तिले एउटा टहराको वार्षिक रु एक लाख ५० हजार भाडामा लिएको सम्झौता कागज समेत पाएको बताउँदै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा लगाउने विरुद्ध कारवाही गर्नुपर्ने बताउनुभयो ।

शाखा अधिकृत पौडेलले भन्नुभयो, “अतिक्रमण गरी बनाइएका १५ मध्ये चार टहरो हटाइ नसक्दै जग्गा भाडामा लगाइ भाडा खाने भनिएका मुख्य व्यक्ति राजु विष्ट, नारायण सिं सिलवाल, टहरा बनाउने झङकनाथ लम्साल र लेखप्रसाद चौलागाइं तथा विनोद विष्ट समेतका व्यक्तिले एक्कासि सरकारी कर्मचारीलाई कुटपिट गरी लछारपछार पारे, मेरो टाउँको समेत फुट्यो ।”

कर्मचारी तथा सुरक्षाकर्मी माथि हातपात गरी, कर्मचारीको कठालो समाती कुटपिट र लछारपछार गरी सरकारी काम कारवाही गर्न नदिएको भन्दै उहाँले सरकारी पोशाकमा खटिएका कर्मचारीले हात फर्काउन नमिल्दा एकोहोरो कुटाइ खान बाध्य भएको बताउनुभयो ।

सरकारी काममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीमाथि हातपात गर्ने व्यक्तिलाई कानूनी कारवाही अगाडि बढाउन नगरपालिकाका पीडित कर्मचारीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा किटानी जाहेरी दर्ता गराए पनि आजसम्म कुनै कारवाही अगाडि नबढाएको भन्दै नगरपालिकाका कर्मचारीले प्रहरी, प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । सरकारी जग्गालाई साविक बालकोट गाविसबाट संरक्षणको लागि ६ फिट अग्लो सिमेन्टको पर्खालले घेरा गरी काँडेतारबार लगाई घेरिएको अवस्थामा रहेको भए पनि संरक्षण गरिएको सरकारी जग्गामा गाडिएका सिमेन्टको खम्बासमेत भाँची केही व्यक्तिले घरटहरा बनाएको अवस्था रहेको नगरपालिकाको भनाइ छ ।