७ बैशाख २०८१, शुक्रबार

‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

kp oli womes day

स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुआत गर्नुभयो ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिक रुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिनुभयो ।

उहाँले कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उल्लेख गर्नुभयो । निजी क्षेत्रले शुरु गरेको भए पनि यो अभियान सरकारको नै अभियान भएकाले यसलाई सफल बनाउन नीतिगत एवम् कानूनी रुपमा के कस्ता सहयोग गर्न सकिन्छ, त्यसका लागि सरकार तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “यो अभियान एउटा नयाँ अठोट हो, राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा महत्वपूर्ण रहन्छ भन्ने मैले विश्वास लिएको छु ।” प्रधानमन्त्रीले यस्ता अभियान साना देखिए पनि अर्थ ठूलो हुने भन्दै भारतमा महात्मा गान्धीले शुरु गर्नुभएको चर्खा आन्दोलनको उदाहरण दिनुभयो ।

नेपाली उत्पादनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्ने गरी उद्योगको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले राष्ट्रिय सङ्कल्पका साथ शुरु गरेको समृद्ध नेपाल र सुखी नेपालीसँग स्वदेशी उत्पादनको महत्व जोडिएको भन्दै प्रधानमन्त्रीले समृद्धि र सुख सँगसँगै अघि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो ।

नेपालमा आवश्यक नै नभएका वस्तु आयात भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यस्ता सामानलाई क्रमशः न्यूनीकरण गर्नुपर्छ भन्नुभयो । नेपाल र नेपाली उद्योगले आफ्ना वस्तुको उत्पादन बढाउँदै उहाँले अन्तरराष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी तयारी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । सरकारले औद्योगिकीकरणका लागि हालै औद्योगिक सप्ताह जसरी देशैभर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको प्रधानमन्त्रीले सो अवसरमा जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताउनुभयो । उहाँले पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी दिनुभयो ।

अझै केही कानूनमा सुधार गर्नुपर्ने भए पनि सरकार तयार रहेको उहाँको भनाइ थियो । नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसङ्घ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताउनुभयो ।

उहाँका अनुसार परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ । परिसङ्घको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

यस्तै आगामी पाँच वर्षमा झण्डै रु पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसङ्घका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।