१६ चैत्र २०८०, शुक्रबार

एग्रोभेटले दिएको गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

fish

एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–५ थानाचौकस्थित स्वस्तिका इन्टरप्राइजेजले दिएको गलत औषधिका कारण सिरहाकै कल्याणपुर नगरपालिका–१ बनिनियाँमा रहेको पोखरीको माछा मरेको भन्दै माछापालक किसान अमरप्रसाद यादवले क्षतिपूर्तिका लागि प्रहरीमा उजुरी दिनुभएको हो । फिस चुना लिन गएकामा इन्टरप्राइजेजका सञ्चालकले दिएको सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) नामक दुईवटा औषधि प्रयोग गरेपछि पोखरीका सम्पूर्ण माछा मरेको किसान यादवले दुखेसो पोख्नुभयो ।

इन्टरप्राइजेजका सञ्चालक जय साहले माछाको सबै समस्या सामाधान हुने भन्दै सीयु सल्फ (कपर सल्फेट) र एउटा अक्सिलाइट (अक्सिजन) दिएको र त्यही औषधि प्रयोग गरेको २४ घण्टा नबित्दै माछा धमाधम मरेको उहाँको भनाइ छ ।

करिब दुई महिनाअघि मात्र यादवले सो पोखरी रु आठ लाखमा तीन वर्षका लागि ठेक्का लिनुभएको थियो । ठेक्का लिएलगत्तै हालेको विभिन्न प्रजातिका लाखौँ मूल्य बराबरका माछा सखाप भएको यादवले बताउनुभयो । यता इन्टरप्राइजेजका सञ्चालक साहले आफ्नो औषधिले माछा नमरेको जिकिर गर्दै आउनुभएको छ ।