१४ बैशाख २०८१, शुक्रबार

नेकपा ओली समूहको संसदीय दलको बैठकमा नेकपाका ११५ सांसद उपस्थित

2020 05 25 image 96
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । बैठकमा ११५ सांसद उपस्थित भएको खिमलाल भट्टराईले दाबी गरेका हुन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बसेको थियो । प्रचण्ड–माधव समूहको बैठकमा बहुमत (१११) सांसद उपस्थित थिए । पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेको छ ।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबारका लागि आह्वान गरिएको छ । शुक्रबार नेकपा प्रचण्ड––माधव पक्षले ओलीलाई बहुमतका आधारमा दलका नेताबाट हटाएर पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चयन गरेको छ । तर, उक्त पक्षले के–कति बहुमतका आधारमा दलका नेता परिवर्तन गरेको भन्ने संख्या खुलाएको छैन । उक्त निर्णयले औपचारिक र कानुनी रूपमा मान्यता पाउनुपर्ने हुन्छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि २०७५ मा पारित दलको विधानले संसदीय दलका नेता चयनको व्यवस्था गरेको छ । विधानको भाग ७ को दफा ३१ मा दलका नेता आफैँले वा एक चौथाइ सांसदले अविश्वास प्रस्ताव ल्याए दलका नेता चयन हुने व्यवस्था छ ।

‘दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्, विधानको दफा ३१ (१))मा छ । यस्तो अविश्वास प्रस्ताव दलका उपनेतासमक्ष दिनुपर्छ । नेताविरुद्ध अविश्वास प्रस्ताव आए उपनेताले १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन दिनुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका नेताको हैसियतमा देव गुरुङलाई मुख्य सचेतकबाट हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । त्यससम्बन्धी ओलीको पत्र प्राप्त भएको दुई दिनमै संसद् सचिवालयले भट्टराईलाई मुख्य सचेतकको कार्यकक्षसहित सेवासुविधा दिएको छ।

भट्टराईलाई प्रमुख सचेतक बनेसँगै नेकपा संसदीय दलको नेता, उपनेता र सचेतक ओली समूहकै भएका छन् । संसदीय दलको नेता प्रधानमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ । एउटा पक्षको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।

पार्टी विवादबारे निर्वाचन आयोगले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । आयोगले टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप पेचिलो बन्दै गएको छ । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । एक सय ११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १७३ जना सदस्य छन् । सानु शिवाको निधनपछि नयाँ नियुक्ति नहुँदा एक पद रिक्त छ । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ जना सांसद छन् । दुवै सदन गरेर २२२ सदस्य छन्।