८ बैशाख २०८१, शनिबार

काँग्रेस सरकारमा जान हुँदैन, महाधिवेशन केन्द्रीत बन्नुपर्छः नेता केसी

Arjun
फाइल फोटो

नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले काँग्रेस तत्काल सरकारमा जान नहुने औल्याएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज (शुक्रबार) दिउँसो भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा नेता केसीले महाधिवेशन गर्नैपर्ने बाध्यतात्मक अवस्थामा काँग्रेसले सरकारमा ध्यान दिन नहुने बताए । ‘हामी महाधिवेशन नजिक आइपुगेका छौं, संविधानलाई बचाउन हामी महाधिवेशनमा होमिनुको विकल्प छैन’–नेता केसीले भने ।

उनले सरकार बनाउने खेलमा नेकपा नै संलग्न होस् भन्दै सरकार बनाउनतर्फ काँग्रेस अलमलिन नहुनेमा केसीको जोड थियो । ‘हामी सरकारमा जाने वा नजाने, यो वा त्यो कुरामा अलमलिनु भन्दा सरकार उनीहरुलाई छोडी दिउँ, सरकार बनाउने खेलमा उनीहरु (नेकपा) लाग्नछ्’ नेता केसीले भने ‘हामी आफ्नो महाधिवेशन गर्ने, जनताकोबीचमा जाने, नेकपाले गरेको विकृतिहरुको हामीले भण्डफोर गर्ने काममा लाग्नुपर्छ ।’

यस्तै नेता केसीले सहमतीबाटै नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । काँग्रेसलाई बलियो पार्टी बनाउन सामूहिक नेतृत्व आवश्यक रहेको भन्दै सहमतिबाट नेतृत्व छान्नुपर्ने केसीको जोड छ । उनले त्यस्तो सहमतिको वातावरण नबने आफू पनि सभापतिका उम्मेद्वार रहेको स्पष्ट पारे । ‘सामूहिक नेतृत्व गर्ने अवस्था सिर्जना गरौं, हामी मध्ये जो उठे पनि सहमतिबाट उठौं’ नेता केसीले भने ‘म सहमतीका लागि कोशिस गरिरहेको छु, भएन भने मसभापतिमा उठ्छु ।’

अहिले स्वार्थविहीन संकल्प गर्ने बेला आएको भन्दै केसीले भने–‘पार्टी विधिबाट चलाऔं, पार्टी नेताबाट होइन नीतिबाट चलाऔं, पार्टी व्यक्तिबाट होइन, विचार र संस्थाबाट चलाऔंं ।’

यस्तै नेता केसीले सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति प्रति काँग्रेस सकरात्मक रहेको बताए । तर तीन बुँदै सहमतिमा हतियार व्यवस्थापनको विषयमा कहीँ कतै उल्लेख नगरिएको भन्दै अझै शंका पैदा भएको औल्याए । ‘तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा छैन, यसलाई हामीले गम्भिरतापूर्वक लिएका छौं’ नेता केसीले भने ‘विप्लवसंग हतियारै छैन भन्ने कुरा आउँदैन, यो गम्भिर विषय किन उल्लेख भएन ?’

यस्तै नेता केसीले पीडकहरु जहिल्यै पनि उन्मिुक्ती पाइरहने र पीडितले न्याय नपाउने स्थिति नओस् भन्ने काँग्रेसको चाहना समेत रहेको बताए ।