१६ चैत्र २०८०, शुक्रबार

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति संगै देशमा अब शान्ति कायम : मन्त्री गुरुङ

parbat gurung
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताउनुभएको छ ।

दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खलः) ले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको स्पष्ट पार्नुभयो ।

सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताउनुभयो । सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताउनुभयो ।

चौध वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा बढी पीडामा परेकालाई उद्धार गरी सम्बन्धित संस्थामा बुझाएको र हाल तीन जना ज्येष्ठ नागरिकलाई संस्थाले संरक्षण गरिरहेको छ ।

कार्यक्रममा दोलखामा जन्मिएर विभिन्न स्थानमा कर्मथलो बनाएका करिब दुई दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सञ्चारमन्त्रीका प्रेस विज्ञ राजेन्द्र मानन्धर, विज्ञापन बोर्डका सदस्य बलराम थापा, मन्त्री गुरुङका विश्लेषक सन्तोष खड्का लगायत हुनुहुन्छ । संस्थाको वसुन्धरा स्थित कार्यालयको उद्घाटन भएको छ ।