७ बैशाख २०८१, शुक्रबार

सरकार र चन्द समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित

biplab government agreement sign

सरकार र नेत्रविक्रम चन्द समूहबीच तीन बुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोट सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका हुन् ।

माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए । चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृह जिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए ।’

चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताउनुभयो । “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “सरकार र चन्द समूह बीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।”

चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानी लगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताउनुभयो ।

“कालीकोटका स्थानीय वासीमा ठूलो डरत्रास थियो”, उहाँले भन्नुभयो, “अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।” कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए ।

सरकार र चन्द समूहबीच भएको तीन बुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडीले अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तारमा झन बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ भन्नुभयो । “खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ”, उहाँले भन्नुभयो, “सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो ।”

    सम्बन्धित समाचार...