११ बैशाख २०८१, मंगलवार

काभ्रेबाट चन्दका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला रिहा

dharmendra bastola kavre release

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई शुक्रबार काभ्रेबाट रिहाइ गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभाग प्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

करिब दुई सातादेखि धुलिखेल स्थित प्रहरी हिरासतमा रहनु भएका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मी सामु बिहान १०ः०० बजे सार्वजनिक गर्नुभएको थियो ।

पार्टीका सचिवालय सदस्य समेत रहनु भएका बाँस्तोला गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सीमावर्ती क्षेत्रबाट पक्राउ पर्नुभएको थियो । पक्राउ पछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।

रिहाइ गरेपछि बाँस्तोलाका शुभेच्छुकले ‘वैज्ञानिक समाजवाद जिन्दावाद, वीर शहीद लालसलाम’ जस्ता विभिन्न नाराबाजी गरेका थिए । बाँस्तोलाले सार्वजनिक भए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले राजनीतिक तवरले देशका समस्या समाधान गरौँ भन्ने विषय न्यायको सम्मान भएको उल्लेख गर्दै देशको समस्या समाधान गर्न आफूहरु लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

“देशको समस्या समाधान गर्न हामी अगाडि बढ्छौँ र सफल पनि हुनेछौँ”, उहाँले भन्नुभयो । बाँस्तोलालाई सार्वजनिक गरिए लगत्तै प्रहरीकै सुरक्षामा काठमाडौँ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौँ लगिएको हो ।

सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीन बुँदे सहमति गर्दै सो पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको पार्टी माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत सहमतिमा समेटिएको छ ।

यस अघि सरकारले चन्द नेतृत्वको नेकपा माथि २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।