१६ चैत्र २०८०, शुक्रबार

सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै

1611825170nepal corona vaccine

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ । जिल्लाका ६० केन्द्र मार्फत पहिलो चरणमा छुटेकादेखि सो उमेर समूहका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि २८ गतेसम्म खोप लगाउने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, बराहताल गाउँपालिका र चिङ्गाड गाउँपालिकामा तथा दोस्रो चरणमा फागुन २६ देखि २८ गतेसम्म चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

कार्यालय प्रमुख चेतननिधि वाग्लेले खोप अभियानका लागि २५६ भन्दा बढी स्वास्थ्यकर्मी, ६०० स्वयंसेवक र चिकित्सकसहितको चार टोली परिचालन हुने बताउनुभयो ।

त्यस्तै पहिलो चरणमा गत माघ १४ गतेदेखि हालसम्म सुर्खेतमा सात हजार ४७५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा पहिलो मात्रा खोप लगाएकालाई वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा खोप लगाउने व्यवस्था मिलाइएको छ । सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ । तीन जना नेपालगञ्ज तथा काठमाडौँका अस्पतालमा मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।