१५ चैत्र २०८०, बिहीबार

फिल्म ‘आँधी तुफान २’ को घोषणा, कलाकारदेखि निर्देशक परिवर्तन

IMG

मौनता श्रेष्ठको फिल्म ‘आँधी तुफान २’ निर्माण हुने भएको छ । ‘आँधी तुफान’ निर्माण भएको करिव १६ वर्षपछि सिक्वेल घोषणा गरिएको हो । सिक्वेलमा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् । पहिलो फिल्ममा महेन्द्र बुढाथोकीको निर्देशक थिए भने कलाकारमा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए ।

तर, १६ वर्षपछि निर्माण हुन लागेको फिल्म ‘आँधी तुफान २’मा आरती आचार्य, पुनम गौतम र याङ्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । यि तिनै जना कलाकारले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछन् । यस फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दै छन् भने सञ्जय खतिवडालाई अभिनेताका रुपमा छानिएको छ । सञ्जयका अलवा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ ।

यस फिल्मको लेखक तथा प्रस्तुतकर्ता मौनता श्रेष्ठ रहेका छन् । लकडाउनको समयमा उनले फिल्म ‘आँधी तुफान’को सिक्वेल ल्याउन लागेको जानकारी गराइरहेका थिए । फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी रहने छ।

त्यस्तै फिल्मका गीत हरी उप्रेती र दिनेश सुवेदीले लखेका छन् । फिल्मको घोषणा कार्यक्रममा ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्न निर्देशक मदनले बताएका छन् । उनले कार्यक्रममा भने ,‘ एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल फिल्म बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट फिल्म बनाउने प्रयास गर्नेछु ।’

फिल्म घोषणा कार्यक्रममा निर्माता संघका महासचिव रोज राणा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल, वितरक गोपाल कायस्थ उपस्थित रहेका थिए । सबैले फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको भन्दै शुभकामना दिएका थिए ।