१२ बैशाख २०८१, बुधबार

काली मार्सी चामल जापानी बजारमा

marsi chamal

खलङ्गा, जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गर्नुभएको हो ।

व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल र मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।” कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगै जुम्ली मार्सी र सिमीका माध्यमबाट नेपाल नाम अन्तर्राष्ट्रिय बजारमा आफूलाई चिनाउन सफल भएको छ ।

क्यानडा निर्यातको अन्तिम तयारी

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी तथा एक टन हरियो केराउ र कोदो गरेर क्यानडामा माग भएको सञ्चालक शाहीले बताउनुभयो । क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ प्रतीक चिह्न हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उहाँले बताउनुभयो । “जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उहाँले भन्नुभयो, “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अग्र्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, आयुर्वेदिक चिया , चिनो, कागुनो र टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले जानकारी दिनुभयो ।