१६ चैत्र २०८०, शुक्रबार

महाप्रबन्धक पक्राउ

arest

उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।

आफूमाथि हातपात र दुव्र्यवहार भएको भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारीले प्रहरीमा उजुरी दिएपछि मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी अभद्र व्यवहारअन्तर्गत सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुव्र्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् । पक्राउ परेका मल्ललाई कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

झरना साहित्यिक परिवारलाई एक लाख राशिको पुरस्कार

मकवानपुरस्थित झरना साहित्यिक परिवारलाई रु एक लाख राशिको पुरस्कार हेटौँडामा मङ्गलबार आयोजित एक समारोहका बीच समर्पण गरिएको छ । पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले झरना साहित्यिक परिवारलाई रु एक लाखको पुरस्कार हेटौँडामै आएर एक कार्यक्रमबीच समपर्ण गरेको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दीपक गौतमलगायतलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले साहित्यप्रति आफ्नो अत्यन्तै रुचि रहेको बताउनुभयो । साहित्यिक कार्यक्रममा बोल्नभन्दा पनि सुन्नका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो । सम्मानित हुने संस्थालाई बधाई दिँदै उहाँले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभयो । हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य एकेडेमीका प्राज्ञ हरिदेवी कोइराला, अग्रज साहित्यकारलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।