८ बैशाख २०८१, शनिबार

गोदावरीमा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने

godawari municipality nagarpalika

गोदावरी नगरपालिकामा फोहरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । आज यहाँ सम्पन्न ‘प्रथम आवधिक नगर विकास योजना तर्जुमा बृहत कार्यशाला गोष्ठी’ मा सो नगरपालिकाका साथै ललितपुर महानगरपालिकाको फोहर सङ्कलन र व्यवस्थापन गर्न मिल्ने वातावरण तयार गर्न लागिएको जानकारी दिइयो ।

नगरपालिका–७ बुरुनचुलीको १२ रोपनी जमीनमा आधुनिक प्रशोधन केन्द्र सञ्चालन, सात स्थानमा आधारभूत पूर्वाधार सहितको बजार विकास तथा व्यवस्थापन, जीर्ण काठका पोल प्रतिस्थापन, खुला तारलाई इन्सुलेटर र भूमिगत प्रणालीमा लान नेपाल विद्युत् प्राधिकरणसँग समन्वय र पैरवी भइरहेको छ ।

यस्तै सोलार, बायोग्यास र सुधारिएको चुल्होको प्रवद्र्धन, कौशी खेती, कल कारखानाबाट निस्कने फोहर तथा प्रदूषण अनुगमन, एक वडा एक उद्यान, अपाङ्ग मैत्री नगरपालिका तथा वडा कार्यालय भवन निर्माण गरिनाका साथै स्तनपान कक्ष व्यवस्था, असहाय तथा विपन्न अवस्थामा रहेका नगरवासीलाई करको छुट, मौलिक गीत, नाच, कला प्रदर्शनीको संरक्षण गरिने रणनीति तयार भएको जनाइएको छ ।

सो नगरपालिकाले सार्वजनिक गरेको योजना तर्जुमा पुस्तकमा कृषिलाई आधुनिक तथा व्यवसायिकतातर्फ उन्मुख गरिने, नगरपालिकाका कूल जनसङ्ख्यामध्ये ९३ प्रतिशतको आफ्नै घर रहँदा बाँकी सात प्रतिशतको जीवनस्तर सुधार्ने काम गरिने र नगरवासी मात्रै ९५ प्रतिशतसँग टेलिभिजन अनि ८० प्रतिशतसँग सामाजिक सञ्जालको पहुँच रहँदा सात प्रतिशत सबैका घर घरमा सो सेवासुविधा पु¥याइने लक्ष्य लिएको छ । कार्यक्रममा ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवालले गोदावरीमा भइरहेका अव्यवस्थित विकासलाई रोक्न ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले योजनाविहीन भएर कोही पनि व्यक्ति सजिलै गन्तव्यमा पुग्न नसक्ने भएकाले यसले आउँदा दिनमा अघि बढ्न मद्दत गर्ने मत व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य लालकुमारी पुनले परिणामुखी योजना पहिचान गरी अघि बढ्दा काममा सफलता प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरीमा भूउपग्रह नीति २०७६, जमीनको क्षमता र आवश्यकता अनुसारको मापदण्ड र योजना नरहेकाले यसतर्फ ध्यान दिने बताउनुभयो ।