१४ बैशाख २०८१, शुक्रबार

केरुङ नाका आजदेखि पुनः सञ्चालनमा

kerung

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका आजदेखि पुनः सञ्चालन भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका आजदेखि खुल्न लागेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।

रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदूर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन नसकिएको दुखेसो गर्नुहुन्छ कार्यालयका प्रमुख रामप्रसाद रेग्मी ।

उक्त नाकाबाट निकासी–पैठारी गर्ने व्यवसायीहरू केरुङमा चीनले अघोषित नाकाबन्दीको जस्तो अवस्था सृजना गरेको आरोप लगाउँदै त्यसलाई अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यकीय सामग्रीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कण्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री बताउनुहुन्छ । नेपाली उद्यमी–व्यवसायीले हस्तकलाका सामग्री निर्यात गर्न नपाएको गुनासो आफूसमक्ष गरेका जानकारी दिँदै उहाँले त्यसनिम्ति सरकारीस्तरबाट हरसम्भव प्रयत्न भइरहेको बताउनुभयो ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।