१५ चैत्र २०८०, बिहीबार

जापानमा बच्चाभन्दा कुकुर बिरालोको संख्या धेरै

cat dog

जापानमा बच्चाको जन्मदर लगातार कम भैरहेको छ । त्यहीँ बीचमा अहिले त्यहाँ एउटा अनौठो प्रवृत्ति देखा परिरहेको छ । जापानमा मानिसहरुमा कुकुर बिरालो पाल्ने शौख यति धेरै बढेको छ कि त्यहाँ नयाँ जन्मिने मानिसको बच्चाको जन्मदर्ताभन्दा कुकुर बिरालोको दर्ताको संख्या धेरै हुने गरेको छ ।

स्मरण रहोस् जापानमा घरपालुवा जनावर पाल्ने वा त्यस्ता जनावरलाई विदेश यात्रामा लैजाने मानिसले सम्बन्धित सरकारी निकायमा अनिवार्यरुपमा दर्ता गराउनु पर्दछ ।

मुलुकमा बच्चाको संख्याभन्दा कुकुर बिरालोको संख्या बढी भएको यो तथ्य अर्थव्यवस्थाको विश्लेषण गर्ने Goldman Sachs कम्पनीले पत्ता लगाएको छ ।

जापानको अर्थ व्यवस्थामा गिरावटका लागि कम जन्मदरलाई जिम्मेवार मानिएको छ । जापानमा पशुको स्याहारले बच्चाबच्चीलाई प्रतिस्थापित गरिरहेको उक्त कम्पनीको रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०१४ मा जापानमा १५ वर्षभन्दामुनिका बालबालिकाको संख्या १ करोड ६५ लाख थियो । जबकि त्यस समयमा कुकुर बिरालोको संख्या २ करोड १३ लाख थियो ।

विश्लेषकका अनुसार जापानमा कुकुर बिरालोजस्ता पाल्तु जनावरले मानिसका बच्चाको ठाउँ लिइरहेका छन् । फलतः जापानी दम्पत्तिहरुमा बच्चा जन्माउने चाहनामा समेत कमी आइरहेको छ ।

यद्यपि यसका पछाडि विभिन्न कारणहरु रहेका छन् । जसमध्ये मुख्य कारणचाहिँ कामप्रति जापानीहरुमा रहेको अत्यधिक लगाव पनि एक हो । जापानमा मानिसहरु कामबाट छुट्टी लिनै चाहँदैनन् जसका कारण कम्पनीहरुले नै वर्षमा अनिवार्यरुपमा कम्तिमा १४ दिन कर्मचारीले बिदा लिनैपर्ने नियम बनाएका हुन्छन् ।

जापानमा महिला र पुरुष दुवैमा कामप्रतिको व्यस्तता र लगाव उत्तिकै छ । यस्तोमा लोग्ने र स्वास्नीमध्ये कोही पनि सन्तानको जिम्मा काँधमा बोक्न चाहँदैनन् ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार यदि जापानी दम्पतीहरुले सन्तान जन्माउने कुरामा अहिलेकै जस्तो अनिच्छा देखाउने हो भने आगामी २० वर्षमा त्यहाँको ३५ प्रतिशत जनसंख्या ८० वर्षभन्दा बुढो जनसंख्या हुनेछ । उसो त सन् २०२५ सम्ममा जापानमा हरेक ३ मध्ये एक जना मानिस ६५ वर्ष भन्दा अधिक उमेरको हुने देखिन्छ ।

विशेषज्ञहरुका अनुसार यदि जापानमा जनसंख्या वृद्धिमा ध्यान नदिने हो भने आगामी ५० वर्षमा त्यहाँको जनसंख्या घटेर ८ करोड हुनेछ भने सय वर्षमा त्यो ४ करोडमा झर्नेछ । अर्थात् जापानमा बृद्धावस्थाको जनसंख्या बढेसँगै देशको जनसंख्या घटिरहेको छ ।

मानिसको संख्यामा गिरावट आइरहेको भए पनि घरपालुवा जनावरको मामिलामा भने जापान सुपर पावर नै बनेको छ ।

औषत आयको मामिलामा जापानीहरु अन्य देशका तुलनामा निकै अगाडि छन् । त्यसैले आफ्ना पाल्तु जनावरको पालनपोषणमा पनि उनीहरु मनग्गे खर्च गर्दछन् । जनावरको सरसफाइँ, खाना तथा समयमा खोप र उपचार मात्र नभई सप्ताहन्तमा जनावरका लागि किनमेल थुप्रो खर्च हुने गरेको छ । जापानमा कुकुरकै लागि भनेर ठूला ठूला अन्तर्राष्ट्रिय ब्राण्ड डिजाइनर कपडा समेत बनिसकेका छन् ।

जापानमा राजधानी टोकियाको अवस्था छ यस्तो छ कि त्यहाँ बच्चाको कपडा तथा अन्य आवश्यक सरसामान पाइने पसल खोज्न गाह्रो होला तर कुकुरका कपडा र कुकुरका लागि आवश्यक सरसामानहरु सजिलैसँग पाइन्छ ।

जनावरको आवश्यकताका लागि चाहिने सरसामान उद्योगको कमाई ८ अर्ब पाउण्डभन्दा बढी भएको बताइन्छ । अर्को रोचक त के भने जापानमा कुकुरका लागि योगा कक्षाको समेत व्यवस्था छ ।

यदि अन्य देशबाट जनावरहरु खरीद गरेर ल्याइयो भने जापानका घरमा त्यसले सजिलै प्रवेश पाउँदैन । सबैभन्दा पहिले जनावरलाई क्वारेन्टाइनमा राख्नु पर्दछ । त्यसलाई जनावर क्वारेन्टाइन सेवा अर्थात् एक्यूएस भनिन्छ । सबै सहरमा व्यवस्थित जनावर क्वारेन्टाइन केन्द्र रहेका छन् ।

यद्यपि अष्ट्रेलिया, ताइवान, न्युजिल्याण्ड तथा फिजीबाट ल्याइएका जनावरलाई भने क्वारेन्टाइनमा राखिँदैन । जापानीहरु पाल्तु जनावरको पालनपोषण तथा खानपिन र किनमेलका लागि मात्र होइन कि मृत्युपछि अन्तिम संस्कारका लागि समेत लाखौँ खर्च गरिरहेका छन् ।

    सम्बन्धित समाचार...