१५ चैत्र २०८०, बिहीबार

कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई एक लाख दरले राहत

thaha municipality

मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अनुसार ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु एक लाख दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रति परिवार रु एक लाख दिने सातौँ नगर सभाले निर्णय गरेको थियो ।

थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

थाहा नगरमा कोभिड–१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिनुभयो ।