१५ चैत्र २०८०, बिहीबार

संसद् पुनर्स्थापना भएर केही बिग्रिएको छैन : मुख्यमन्त्री पाेखरेल

shankar pokharel

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ओली समूहका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रचण्ड–माधवहरू गैर–कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ ।

बुधवार नेकपा ओली निकट राष्ट्रिय युवा सङ्घ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैर–कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौँ, राष्ट्रिय सहमति खोज्छौँ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिस्ट पार्टीको दुई तिहाइ हुँदा हुँदै विघटन गरेर सङ्कटमा पारे भन्ने कुरा गर्नुहुन्छ । उहाँहरूले जितेको जितको परिणाम के हो त भन्दाखेरि कम्युनिस्ट पार्टीको नेतृत्व होइन गैर–कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ ।’

नेता पोखरेलले कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर–कम्युनिस्टहरूकाे सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै नागरिककाे बीचमा यसै विषयलाई लिएर जाने बताउनुभयो । उहाँले जुन उद्देश्यका साथ प्रतिनिधि सभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गर्नुभयो । प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षड्यन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उहाँले दुई महिनाको अवधिमा नागरिकले सत्य कुरा बुझ्ने मौका पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि, स्वाभाविक रूपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ । आज सर्वोच्चको फैसला के भयो भन्ने कुरालाई बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षड्यन्त्रपूर्ण क्रियाकलाप भएको थियो, त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौँ । जुन उद्देश्य साथ प्रतिनिधि सभा विघटन गरेका थियौँ, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौँ । संसद् पुनर्स्थापना भएर केही बिग्रिएको छैन ।’

नेता पोखरेलले संसदमा मान्छे तान्ने खेल सुरु हुने र त्यतिबेला केपी ओलीको संसद् विघटनको कदम सही हो भन्ने दुनियाँलाई महसुस हुने बताउनुभयो । आउँदाे चुनावसम्ममा सबैको मनमा केपी ओलीको नेतृत्व स्थापित भइ सक्ने पनि नेता पाेखरेलकाे भनाइ छ ।

कार्यक्रममा बोल्दै नेकपा ओली समूहका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले सर्वोच्च अदालतको निर्णयले दुई वर्ष सङ्गठन गर्ने अवसर पाएको बताउनुभयो । सङ्गठन निर्माण गरेर जाने र आउँदाे चुनाव जितेरै छाड्ने दाबी पनि गर्नुभयो ।

सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै आफूहरूले संयमतापूर्वक राजनीतिक विचार राखिरहेको तामाङले बताउनुभयो । आफूहरू निर्माण र समृद्धिको पक्षमा रहेको र त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको पनि उहाँले बताउनुभयो ।