१२ बैशाख २०८१, बुधबार

‘ए’ डिभिजन लिग फुटबल : हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार तेश्रो स्थानमा उक्लियो

3 star

हिमालयन शेर्पामाथि जित निकाल्दै थ्रिस्टार क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

आठौं चरणको बिहीबार भएको खेलमा हिमालयन शेर्पामाथि ३–१ को जित निकाल्दै थ्रिस्टार लिगको तेस्रो स्थानमा उक्लिएको हो । थ्रिस्टारको जितमा विदेशी खेलाडी हाजमतसँगै सन्जोग राइ र शुसिल राइले गोल गरे । शेर्पाका स्टेफन समिरले १ गोल फर्काएपनि हार टार्न सकेनन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सूरु भएको ६ मिनेटमा नै थ्रिस्टारले अग्रता बनाएको थियो । लालले दिएको पास शुसिलले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा शेर्पाका स्टेफनले बराबरी गोल फर्काए । इन्जुरी समयमा थ्रिस्टारका सन्जोगले गोल गर्दै टोलीलाई पुनह २–१ को अग्रता दिलाए ।

इन्जुरी समयको गोलसँग अग्रता बनाएको थ्रिस्टारले दोस्रो हाफमा आक्रमक रणनीतीसहित १ गोल थप्दा शेर्पा सुन्दर अवसर सदुपयोग गर्नबाट बञ्‍चित भयो । ५० औं मिनेटमा थ्रिस्टारका विदेशी खेलाडी हाजमतले थ्रिस्टारलाई ३–१ को अवस्थामा पुर्‍याए ।

बाँकी समय शेर्पा खेलमा फर्किन सकेन् । थ्रिस्टार ३–१ ले विजयी भयो । जितसँगै थ्रिस्टार ८ खेलबाट १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्रिस्टारले शीर्ष स्थानमा रहेका आर्मी र मच्छिन्द्रसँगको अंकदूरी २ मा घटाएको छ ।

पराजित शेर्पा ८ खेलबाट ७ अंकसहित लिगको ११ औं स्थानमा छ । लिगको दोस्रो खेलमा अहिले जावलाखेल युथ क्लब र एपीएफ खेलिरहेका छन् ।