१२ बैशाख २०८१, बुधबार

नेपाल भाषाको स्थानीय पाठ्यपुस्तक तयार

ranjana lipi

कामपाले आधारभूत कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । आगामी शैक्षिकसत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । जसअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ््यक्रमका रूपमा आफँैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ््यपुस्तक तयार गरेको हो । कामपाले गएको वैशाख÷जेठबाट तयारी शुरु गरेको थियो । कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ््यपुस्तक छपाइलगायतका काममा ढिलाइ भएको थियो । पाठ््यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषय समेटिएका छन् ।

त्यसैगरी प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । गत मङ्सिरमा नै कक्षा १ का लागि पाठ््यपुस्तक तयार भइसकेको थियो । कक्षा २ देखि ८ सम्मका पुस्तक पनि तयारीको अन्तिम अवस्थामा छन् । पूर्णरूपमा रङ्गीन रहने यो पुस्तक नेपाल भाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ । कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् ।