१६ चैत्र २०८०, शुक्रबार

घरबाटै वृद्ध दम्पती बेपत्ता : छानबिन माग गर्दै जनकपुर–जलेश्वर सडक अवरुद्ध

musafi and gita devi jha bepatta

जनकपुर–जलेश्वर राजमार्गको पिपरामा स्थानीयवासीले सडकमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । महोत्तरीको पिपरा–५ सहोडवामा एक दम्पतीलाई बेपत्ता पारिएको भन्दै स्थानीयले आज यातायात अवरुद्ध गरेका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने मागसहित उनीहरूले जलेश्वर–जनकपुर राजमार्ग यातायात सञ्चालन ठप्प पारेका छन् । पिपरा गाउँपालिका–५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार दुवै छुट्टाछुट्टै कोठामा सुतेका थिए । बिहानदेखि दुवै घरमा भेटिएका छैनन् । यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखा परेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

राति अज्ञात समूहले आएर आक्रमण गरी उनीहरूलाई बेपत्ता बनाएको हुन सक्ने झाका नाति सुजितकुमार झाले दाबी गर्नुभएको छ । सुजितले घटनामा उच्चस्तरीय छानबिन आवश्यक देखिएकाले दबाबका लागि सडक अवरुद्ध गरेको बताउनुभयो । दुवै सुतेको ठाउँमा रगत भेटिएकाले घटना शङ्कास्पद रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । प्रहरी उपरीक्षक केसीले भन्नुभयो, “दुवैको खोजी भइरहेको छ ।” बिहान झा दम्पती घरमा नभेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । “घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीव्ररुपमा भइरहेको र घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । झा मोहीसम्बन्धी एउटा जग्गा विवादमा साक्षी बसिरहेका व्यक्ति रहेको स्थानीयको भनाइ रहेको छ । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।