७ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यका लगायत देशैभरी ‘हाई अलर्ट’, राजधानीमा सुरक्षा व्यवस्था कडा

nepal polie high alert
सांकेतिक तस्विर

सर्वोच्च अदालतले आज साँझ प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई उल्टाइदिएको छ । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

यो फैसलालाई ओली पक्षीय नेकपाले भने अनपेक्षित भनेको छ । सर्वोच्चको यो फैसलासँगै सुरक्षा निकायलाई भने हाई अलर्टमा राखिएको छ । यसअघि नै नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने अनुमान सुरक्षा निकायले गरेको थिए । सोही आधारमा सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो ।

सुरक्षा निकायले संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना हुने आंकलन गरेको थियो । यसै विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

नेपाल प्रहरीले सशस्त्र प्रहरीको समेत समन्वयमा सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरेको सुरक्षा स्रोतले जनाएको छ । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको हो ।

काठमाडौं उपत्यका लगायत देशैभरी नेपाल प्रहरी हाईअलर्टमा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए। यद्यपी अहिलेसम्म बल प्रयोग गर्नुपर्ने गतिविधि भइ नसकेको उनले जानकारी दिए।

‘विशेषगरी काठमाडौं उपत्यकाका सर्वोच्च अदालत वरिपरी, माइतीघर मण्डला, न्यायाधीशका निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ’, उनले भने, ‘अब समस्याहरू उत्पन्न हुन सक्ने भन्दै प्रहरी परिचालन भएको छ। अहिले सम्म त्यस्तो केहि भइसकेको छैन। माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ। सम्भावित क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।’

उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिनुका साथै पार्टी कार्यालयदेखि न्यायाधीश निवाससम्म बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।