६ बैशाख २०८१, बिहीबार

अमेरिकामा पनि भेटियो चीनबाट फैलिएको कोरोना भाइरस, चीनमा ९ जनाको मृ’त्यु’

coronavirus

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संयुक्त राज्य अमेरिका पुगेको छ। अमेरिकाको वासिङट्न राज्यमा उक्त भाइरसबाट संक्रमित एक जना अस्पताल भर्ना भएका छन्।

३० वर्षजतिका ती पुरूष केही दिनअघि चीनको वुहान बसेर फर्किएका थिए। सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी छ।

उनी लक्षण देखिनासाथ अस्पताल भर्ना भएकाले कोरोना भाइरसलाई फैलिन रोकिएकोमा स्वास्थ्य अधिकारीहरूले सन्तोष व्यक्त गरेका छन्।

यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो भाइरस मान्छेमा सरेको थियो। अहिले त्यो बजार बन्द गरिएको छ।

त्यसपछि संक्रमित मानिसबाट अरूमा सर्दै गएपछि अहिले कोरोना भाइरस थाइल्यान्ड जापान र कोरियासम्म फैलिइसकेको छ। चीनमा मात्र यो भाइरसका कारण ९ जनाको ज्यान गएको छ भने चार सय ४० जना संक्रमित भएका छन्।

के हो कोरोना भाइरस

तीन साताअघि चीनको वुहानबाट फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको शंका गरियो।

वुहानमा अध्ययन गर्ने उनी नेपाल आउँदा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका थिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको शंका गरेको छ। यो भाइरसबारे सचेत रहन विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य मन्त्रालयलाई सूचना जारी गरिसकेको छ।

चीनमा आतंक बनेको कोरोना भाइरस संक्रमणले ९ जनाको मृत्यु भइसकेको चिनियाँ अधिकारीले जनाएका छन्। चार सयभन्दा बढी संक्रमित र त्योभन्दा धेरै बिरामी भएको अनुमान छ।

बिल्कुलै नयाँ प्रकारको यो रहस्यमयी भाइरस गत डिसेम्बरमा पत्ता लागेको हो। अहिले यो चीनको सीमाना पार गरेर थाइल्यान्ड, जापान, दक्षिण कोरिया र अमेरिका पुगिसकेको छ।

बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन्।

कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन्। यसमध्ये छ प्रकारका भाइरस मात्र मान्छेमा संक्रमण हुने मानिन्थ्यो। यो नयाँ प्रकार पत्ता लागेसँगै यसको संख्या सात पुगेको छ।

नयाँ भाइरसको जेनेटिक कोडु विश्लेषणबाट यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरू कोरोना भाइरसको तुलनामा धेरै भएको पत्ता लागेको छ। यो कोरोना भाइरसकै एक प्रकार सार्सु जत्तिकै शक्तिशाली भएको बताइएको छ।

सार्स धेरै खतरनाक कोरोना भाइरस हो। चीनमा सन् २००२ मा ८ हजारभन्दा बढी मान्छे यसबाट संक्रमित थिए। ७७४ जनाको मृत्यु भएको थियो।

यो नयाँ भाइरसको संक्रमण हुँदा सामान्य रूघाखोकीका लक्षण देखा पर्छन्। असर गम्भीर भए मृत्यु पनि हुन सक्छ।

युनिभर्सिटी अफ एडिनबराका प्राध्यापक मार्क वुलहाउसको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ, ुजब हामीले यो नयाँ कोरोना भाइरस देख्यौं, यसको असर यति धेरै खतरनाक किन छ भनेर बुझ्न खोज्यौं। सामान्य रूघाको लक्षण देखाउने भए पनि यसको असर त्यतिमै रोकिँदैन। यो चिन्ताको विषय हो।

यो भाइरस कुनै एक प्रजातिको जीवबाट अर्को प्रजातिमा सर्ने अनुसन्धाताहरू बताउँछन्। यसरी सर्दैसर्दै यो मान्छेसम्म पुग्छ। यो कसरी र कस्तो अवस्थामा सर्दै आउँछ भन्नेबारे हालसम्म कुनै जानकारी छैन।

नोटिङ्गम युनिभर्सिटीका जीव वैज्ञानिक जोनाथन बलका अनुसार यो बिल्कुलै नयाँ भाइरस भएकाले धेरै जानकारी लिन सकिएको छैन। जनावरबाट सरेर मान्छेमा आएको उनको अनुमान छ।

यसअघि आतंक फैलाउने सार्स भाइरस पनि बिरालो जातको जनावरबाट मान्छेमा सरेको थियो। एजेन्सी