११ बैशाख २०८१, मंगलवार

फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल

Dormani poudel
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा फरक ढङ्गको विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफूहरुले चाहेको विश्वविद्यालय भनेको नयाँ ढङ्गको, सबैको पहुँच पुग्न सक्ने, त्यस विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले काम पाउने खालको भएको भन्दै प्रदेश विश्वविद्यालय निर्माण अघि ती सबै कुराहरुमा ध्यान दिइने उल्लेख गर्नुभयो ।

प्रदेश सुशासन केन्द्रको सभाहल जावलाखेलमा भएको वाग्मती प्रदेशको प्रदेश उच्च शिक्षा ऐनको मस्यौदामाथि शिक्षा क्षेत्रका उच्चस्तरीय व्यक्तित्वहरुबीच भएको छलफल कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विभिन्न मोडलका विश्वविद्यालयमध्ये शैक्षिक कार्यक्रमको उद्देश्य पूरा गर्न सक्ने वा नसक्नेसमेत थाहा नपाई आङ्गिक क्याम्पस बनाउने भन्दा पनि शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमको निर्माण र कार्यान्वयनमा स्वायत्ततासहितको अन्य शैक्षिक संस्थालाई अनुबन्धन नगर्ने मानित विश्वविद्यालयको अवधारणा आफूलाई उपयुक्त लागेको बताउनुभयो । पौडेलले त्यो अवधारणाअनुसार साधन स्रोत, विद्यार्थी सङ्ख्या तथा पूर्वाधारलगायतले उपयुक्त देखिएका प्रदेशका थुप्रै क्याम्पसहरुले मानित विश्वविद्यालयको मान्यता पाउन सक्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री पौडेलले विश्वविद्यालयहरुका पाठ्यक्रमहरु तथा शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । वर्तमान विश्वविद्यालयहरुले पनि समयानुकूल परिमार्जित र परिष्कृत भएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । पौडेलले प्रविधि, बदलिँदो परिस्थिति तथा समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन हुन सक्ने किसिमका शैक्षिक योजनाहरु निर्माण हुनुपर्नेमा जोड दिनुभयो । स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका नागरिकहरुले आफ्नो प्रमाणपत्र दराजमा थन्क्याएर खाडीमा पसिना बगाउन जानुपर्ने अनि देशलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति बाहिरी देशबाट मगाउनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेकाले नीतिनिर्माण गर्ने तहमै सुधार गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको सभाहल हेटौँडामा आज भएको छलफलमा प्रदेशको उच्च शिक्षा कस्तो हुने वा हुनुपर्ने भन्ने विषयमा विज्ञहरुबीच छलफल भएको थियो । प्रदेश उच्च शिक्षा ऐनको मस्यौदामाथि देशमा भएका विभिन्न विश्वविद्यालयहरुका वर्तमान तथा पूर्व उपकुलपतिहरुलगायत उच्च शिक्षा सम्बद्ध सरोकारावालाहरुसँग सुझाव सङ्कलन गरी उच्च शिक्षा ऐनलाई प्रभावकारी बनाउन छलफल कार्यक्रम आयोजना गरिएको मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो । बैठकले प्रदेशलाई तथा देशलाई आवश्यक पर्ने खालको दक्ष जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने ऐन निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भइरहेको छलफल कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्मालगायत त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरुको पनि सहभागिता रहेको थियो ।