१४ बैशाख २०८१, शुक्रबार

ओली समूहले लगाएको ताला प्रचण्ड-माधव समूहले खोल्यो

talabandi

नेकपा ओली समूहले रुकुम पश्चिमको जिल्ला पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड-माधव समूहले खोलेको छ । शनिबार दुबै समूह एकै पटक पार्टी कार्यालयमा पुगेपछि विवाद भएको थियो र साँझमा ओली समूहले आफ्नो दाबी गर्दै ताला लगाएको थियो ।

तर, विहानै प्रचण्ड(माधव समूहले ताला फोरेर कार्यालय सञ्चालनमा ल्याएको जिल्ला संयोजक गोपाल शर्मा अनलले बताउनु भयो । ‘राति तालामाथि अर्को ताला लगाइएको रहेछ, साथीहरुले विहान कार्यालय खोलिसक्नुभयो । यो प्रचारका लागि मात्रै गरिएको हो’, उहाँले भन्नु भयो ।

ओली समूहले भने रुकुम पश्चिमको बागबजारस्थित मदन आश्रति स्मृति भवनमा जिल्ला कमिटी बैठक बसिरहेका बेला हुलदंगा गरिएकाले ताला लगाएको बक्तव्यमार्फत जानकारी दिएको छ । ओली समूहले ताला लगाएपछि प्रशासनलाई सुरक्षा व्यवस्था गरिदिन भन्दै निवेदन पनि दिएको थियो ।

कार्यालयको चलअचल सम्पत्ति सुरक्षाको मागसहित ओली समूहका संयोजक टंकप्रसाद वलीले निवेदन दिएका छन् । अर्का समूहका संयोजक अनलले भने हुलदंगा गरिएको आरोप अस्वीकार गर्नु भयो ।

‘महिला संगठनको कार्यक्रम पहिले तय भएको थियो । साथीहरुले पनि त्यहाँ अर्को कार्यक्रम गर्न खोज्नुभएको थियो । तर, भइरहेको कार्यक्रम छोड्ने कुरा भएन’, उहाँले भन्नु भयो ।

पश्चिम रुकुममा विभाजन अगाडिका संयोजक र सहसंयोजक नै प्रचण्ड(माधव समूहमा लाग्नु भएको छ । पूर्वएमालेका जिल्ला अध्यक्ष विमल पुन पनि यही समूहमा लागेकाले यहाँ ओली समूह अल्पमतमा छ ।