१५ चैत्र २०८०, बिहीबार

विदेशमा कोरोनाको कारण हालसम्म ३३६ जना नेपालीको निधन

corona death
फाइल फोटो

कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।

सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

समितिले यस साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ ।

कोरोनाका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ अन्तर्गतको कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।