७ बैशाख २०८१, शुक्रबार

आज मेलम्ची सुरुङ पुनः परीक्षण गरिने

Melamchi Tunnel
फाइल फोटो

काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो ।

गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताउनुभयो । बिहान ११ बजेबाट पानी पठाउन थालिने उहाँले जानकारी दिनुभयो ।

सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । उहाँले भन्नुभयो, “सुरुङको परीक्षण सफल भएपछि नै नियमित रुपमा मेलम्चीको पानी आउनेछ ।” सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उहाँले जानकारी दिनुभयो ।

सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उहाँले जानकारी दिनुभयो । अहिले वाग्मतीको पानी मार्फत परीक्षण भइसकेको छ ।

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो । सुरुङ परीक्षणका लागि पानी भर्न थालिएकामा एक सातामा पानी बाहिर निस्केको हो ।

दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा ढोकाको फ्रेम नयाँ राखिएको छ ।