४ बैशाख २०८१, मंगलवार

छ वर्षसम्म बन्न सकेन पुल

pull 300x166 1

सिन्धुपाल्चोक- जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सुनकोसी नदीको पक्की पुल निर्माण कार्य छ वर्षसम्म पनि बन्न सकेको छैन ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दा समेत पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले शनिबार पुलमा धर्ना दिएका छन् । प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका छन् ।

सो पुल २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ सालमा नै तयार हुनुपर्ने सम्झौता थियो तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । २०६७ सालबाट स्थानीय समाजसेवी माधव भण्डारीको नेतृत्वमा उक्त पुल सुनकोसीमा निर्माण गर्न पहलकदमी भएको थियो । सोही पहलकदमीका कारण २०६९ सालमा तत्कालीन सरकारले रातो किताबमा सुनकोसीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुलहरू निर्माण सम्पन्न भएर यातायातका साधान सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन । पुल निर्माण भएको हालको काममा पनि गुणस्तरहीन र कमसल काम भएको स्थानीयवासीले आरोप लगाएका छन् ।