१६ चैत्र २०८०, शुक्रबार

सुर्खेतमा पनि देखियो बर्डफ्लु

chicken dying
फाइल फोटो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ का कृषकले पालेको स्थानीय कुखुरामा बर्ड फ्लु रोग देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका महानिर्देशक डा दमयन्ती श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिएका पन्छीमा बर्ड फ्लु देखिएको थियो । विभागले बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाएको छ ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रीय स्तर समेतबाट पशु चिकित्सकको विज्ञ टोली खटाइएको उहाँले जानकारी दिनुभयो । रोग नियन्त्रणका क्रममा शुक्रबार पशुसेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पछी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

यसै क्रममा २७९ कुखुरा, १०२ परेवा, २२ अण्डा, ३१ केजी दाना नष्ट गरिएको छ । साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको छ । विभागले रोगको सघन निगरानीमा सहयोग गरी रोग देखापरेको अवस्थामा तत्काल नियन्त्रणमा लिन सक्रियतापूर्वक सहयोग गर्न सम्बन्धित सबैसँग अनुरोध गरेको छ ।