१६ चैत्र २०८०, शुक्रबार

लक्ष्यविहीन पर्यटन सूचना केन्द्र, बास्तविक तथ्याङ्क राख्दैन

Tourist

पूर्वनिर्धारित लक्ष्यअनुरुप काम गर्ने पर्यटन सूचना केन्द्र यसपटक लक्ष्यविहीन काम गरिरहेको छ । गत वर्षसम्म लक्ष्यअनुसार पर्यटक गणना काम गरिरहेको सूचना केन्द्र यसपटक भने विनालक्ष्य गणनामा लागेको हो ।

इलाम भित्रिनेको गणनाका लागि इलाम र झापाका बीच सिमाना पर्यटन सूचना केन्द्र राखिएको छ । यहाँ दर्ता भएपछि मात्र पर्यटक इलाम भित्रिन्छन् । कोरोना महामारीको निहुँमा सूचना केन्द्र पर्यटक गन्ने काम प्रभावकारी रुपमा गरेको छैन ।

आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा एक लाख ३४ हजार ७७ जना पर्यटक भित्रिएको तथ्याङ्क छ । जसमा आन्तरिक पर्यटकमात्रै एक लाख ३३ हजार ४९७ जना छन् । बाह्य भने ५८० जना रहेको पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७६÷०७७ मा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएका छन् । जसमा आन्तरिक पर्यटक मात्रै एक लाख २८ हजार ६४ जना छन् भने बाह्य पर्यटकको सङ्ख्या ९५६ जना छन् ।

बास्तविक तथ्याङ्क राख्दैन केन्द्र

जिल्ला भित्रिने पर्यटकको तथ्याङ्क राख्न केन्द्रले गणना गरे पनि बास्तविक तथ्याङ्क आउने गरेको छ । केन्द्रले ठूला सवारीका पर्यटक गन्नाले साना सवारीमा आउने पर्यटक छुट्ने गरेका छन् ।

सूचना केन्द्रले बस र ट्याक्सीमा आउने पर्यटक मात्रै गन्छ । साना सवारीमा आउने पर्यटक नगन्नाले बास्तविक तथ्याङ्क नआउने गरेको छ । सूचना केन्द्रले जिल्ला पस्ने पर्यटक गन्ने गर्छ । ती पर्यटक कति जिल्लाभित्रका पर्यटकीय क्षेत्र घुम्छन् र कति अन्य जिल्ला पुग्छन् भन्ने तथ्याङ्क राख्दैन । इलामबाट भित्रिने अधिकांश पर्यटकको गन्तब्य ताप्लेजुङस्थित पाथीभरा हुन्छ । तथ्याङ्कमा इलाम भित्रिएको मात्र देखिन्छ । जिल्लाका कुनकुन ठाउँमा कति पर्यटक पुगे भन्ने तथ्याङ्कसमेत सूचना केन्द्रले राख्दैन । यसैले जिल्लाभित्रकै पर्यटकीय क्षेत्रमा कति पर्यटक पुगे भन्ने तथ्याङ्क छैन ।

यसपटक जिल्लामा पर्यटकीय प्रवद्र्धनका कार्यक्रम शून्य मात्रा छन् । सधै महोत्सव, मेला र प्रदर्शन लाग्ने इलाममा यसपटक यस्ता कार्यक्रम कहीँ पनि भएका छैनन् । कोरोनाका कारण यो वर्षमा कुनै ठाउँमा पनि पर्यटकीय गतिविधि बढाउने कार्यक्रम भएका छैनन् । वर्षेनी लाग्ने धार्मिक मेला पनि यस वर्ष कोरोनाका कारण लाग्न सकेनन् । जिल्लामा वर्षेनी लाग्ने माईबेनी मेला, गजुरमुखी मेला पनि औपचारिकरुपमै लाग्न पाएनन् ।

आन्तरिक पर्यटकको चहलपहल बढेर पछिल्लो समय जिल्लामा चहलपहल बढेपछि बाह्य पर्यटकको सङ्ख्या भने अत्यन्तै न्यून छ । कोरोनाका कारण तहसनहस बनेको पर्यटकीय क्षेत्रमाथि उठाउनैका लागि विगतका वर्षमा भन्दा प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने पर्यटनकर्मी प्रशान्त गिरी बताउनुहुन्छ । गिरीले जिल्लामा महामारी नियन्त्रण भएको सन्देश दिन पनि ठूला कार्यक्रम गर्नुपर्ने सुझाव दिनुहुन्छ ।