१६ चैत्र २०८०, शुक्रबार

जिल्ला हुलाक कार्यालयका प्रमुख र कर्मचारीको मिलेमतोमा बचत बैंकको करोडौं अपचलन

hulak bank

डडेलधुरा जिल्ला अमरगढी नगरपालिका–५ घर भई हाल बझाङको सदरमुकाम चैनपुरमा होटल व्यवसाय गर्दै आएका शिवराज पन्त र उहाँकी पत्नी रिता पन्तको संयुक्त खातामा रु दश लाख रकम हुलाक बचत बैंकमा बचत छ । साथै उहाँकी छोरी ममता पन्त र नाबालक छोरा त्रिलोकको हुलाक बचत खातामा रु एक लाख सात हजार गरी सो परिवारको हुलाक बचत बैंकको खातामा रु ११ लाख जम्मा गरेका छन् ।

परिवारले आफ्नो बचत खाताबाट पैसा निकाल्न सकेको छैन । उहाँ जस्तै बझाङ जिल्लाका होटल व्यवसायी, महिला समूह, व्यक्तिगत गरी एक हजार ७०० बचत कर्ताले हुलाक बचत बैंकबाट आफ्नो कारोबार गर्न पाएका छैनन् । जिल्ला हुलाक कार्यालयका निमित कार्यालय प्रमुख रणबहादुर कठायत र हुलाक बचत बैंकको फाँटमा काम गर्ने कर्मचारी शिवराज उपाध्यायले हुलाक बचत बैंकको रकम अपचलन गरेर भष्टचार गरेको आराप लागेपछि हुलाक बचत बैंकको कारोबार बन्द हुँदा सबै बचतकर्ता मर्कामा परेका छन् ।

अख्तियार अनुसन्धान आयोगले दुवै कर्मचारीको नाममा रकम अपचलन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेपछि गएको गतचैत महिनाबाट जिल्ला हुलाक बचत बैंकमा बचतकर्ताहरुले आफ्नो रकम झिक्न र बचत गर्न पाएका छैनन् । “मैले अहिलेसम्म होटल व्यवसायबाट आम्दानी गरेको सबै रकम हुलाक बचत बैंकमा जम्मा गरेको थिएँ, शिवराज पन्तले भने अहिले मलाई पैसाको साह्रै समस्या परेको थियो खाताबाट पैसा झिन्न पाएको छैन ।

उहाँ जस्तै भोजपुर घर भएकी सीता जोशीले पनि महिला समूहको बचत गरेको रकम निकाल्न नपाएको गुनासो गर्नुभयो । यी त प्रतिनिधि मात्र हुन् हुलाक बैंकमा बचतकर्ताहरु दैनिक जसो रकम निकाल्न आउछन् तर कर्मचारीहरुले अहिले कारोबार बन्द छ भनेर फिर्ता लगाउने गरेको छ । हुलाक बचत बैंकको रु दुई करोड ८४ लाख ८९ हजार ९७१ रकम कार्यालय प्रमुख रणबहादुर कठायतले अपचलन गरेको र रु दुई करोड २४ हजार ८६९ कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो दाबी गरेको छ ।

हुलाक बचत बैंकमा बचतकर्ताहरुले बचत गरेको यो रकम कार्यालयकै कर्मचारीबाट अनियमितता भएर अख्तियारले मुद्दा दायर गरेपछि हुलाक विभागले तत्कालका लागि कारोबार बन्द गर्ने भन्ने परिपत्र अनुसार २०७६ सालको चैत महिनादेखि कारोबार बन्द भएको त्यहाँका कर्मचारी यज्ञराज खत्रीले बताउनुभयो । उहाँले हुलाक बचत बैंकको सबै रकम रु पाँच करोड ६२ लाख ६२ हजार रहेको मध्ये अहिले खातामा रु ७२ लाख मात्र मौज्दात देखिन्छ यो रकम बचत कर्तालाई दिन पनि नपुग्ने र विभागबाट पनि कारोबार बन्द गर्ने परिपत्र अनुसार बचतकर्ताको रकम फिर्ता दिने काम हुन नसकेको बताउनुभयो ।

हुलाक बचत बैंकको बचत भएको सबै रकम निमित्त कार्यालय प्रमुख रणबहादुर कठायत र कर्मचारी शिवराज उपाध्यायले अपचलन गरेको हुँदा हुलाक बचत बैंकमा पैसा नभएको समेत उहाँले जानकारी दिनुभयो । एक वर्षदेखि आफ्नो खाताको रकम निकाल्न नपाएर मर्कामा परेका बचतकर्ताहरु दैनिक रुपमा हाम्रो रकम कहिले निकाल्न पाइन्छ भनेर दैनिक धेरै बचतकर्ताहरु कार्यालयमा आउने गरेका समेत उहाँले बताउनुभयो । हालका कार्यालय प्रमुख झलक रोकायाले लेजरमा पैसा देखिन्छ तर खातामा पैसा छैन ।

विभागले कतै सोधभर्ना गरेर बचतकर्ताहरुको रकम दिनु आवश्यक भएको उहाँको भनाइ छ । उहाँले रकम हिनामिना गर्ने कर्मचारीलाई अख्तियारले मुद्दा चलाइसकेको हुदाँ उनीहरुबाट असुल उपर गर्ने काम हुँदै गरे पनि तर सेवा ग्राहीलाई यता समस्या परेकाले सरकारले यो समस्यालाई छिटै समाधान गरिदिए राम्रो हुने बताउनुभयो ।

सर्वसाधारण नागरिकहरुको सानोतिनो बचत गरेको पैसा हुलाक बचत बैंकबाट निकाल्न नपाए पछि आफ्नो पैसा पाउनु पर्ने भन्दै बचतकर्ताहरुले हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवालाहरुलाई पैसा उपलब्ध गरिदिन माग गर्दै आएका छन् । कार्यालयका कर्मचारीहरुबाट हुलाक बचत बैंकको रकम हिनामिना भएर अख्तियारमा मुद्दा परेर आफ्नो बचत गरेको रकम नपाएपछि बचतकर्ताहरु रकम पाउने कि नपाउने भनेर अन्यौलमा रहेका छन् ।

बचतकर्ताहरुको समस्या देखेर हुलाक कार्यालयका कर्मचारीहरुले पनि रकम उपलब्ध गरिदिन विभागमा परिपत्र गरे पनि अहिलेसम्म कुनै निकास नभएको हुँदा आफूहरुलाई पनि अप्ठेरो लागेको कर्मचारीहरुको भनाइ छ । हुलाक बचत बैंकको रकम अपचलन गरेको आरोपमा अख्तियारले मुद्दा लगाएका कठायत र जोशी अहिले धरौटीमा रिहा भएका छन् ।