८ बैशाख २०८१, शनिबार

यसरी मनाइन्छ शाली नदीमा लगला सप्तमी

saali nadi

प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व शुक्रबार विधिपूर्वक मनाइएको छ । लगला सप्तमीका दिन सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शाली नदीमा बगाउने गरिन्छ ।

विशेषगरी वर्तालुले यसरी बत्ती बालेर शाली नदीमा बगाउने गरेका छन् । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप पखालिई पुण्य पाइने विश्वास छ । यस दिनमा गत वर्ष माधवनारायणको व्रत बसेकाहरु पनि थपिने गरेका छन् । यसवर्ष भने कोरोना महामारीका कारण विगत वर्षका सबै वर्तालु आउन सकेनन् ।

बिहानी समयमा यसरी बत्ती बगाएपछि दिउँसो साँखु बजारमा माधवनारायणलाई रथमा राखी घुमाइन्छ । यस अघिका दिन माधवनारायणलाई हातमा बोकी हिँडाउने गरेकामा आज भने रथमा राखी घुमाइन्छ । माधवनारायण घुमाउने बाटोमा साँवा गणले नाग बनाउने चलन पनि छ । माधवनारायणको रथ यात्रामा पुरुष वर्तालुले नाग बनाएका स्थानमा गुल्टिने र सहस्रधारा बोक्ने गर्छन् । महिला वर्तालुले भने फूल प्रसाद चढाउँदै हिँड्छन् ।

माधवनारायणको रथयात्रा घुमाउने क्रममा माध गीतसमेत गाइएको छ । यो गीत भने बार अनुसार गाउने प्रचलन छ । यो गीतमा विशेषगरी भगवानको नाम स्मरण गरिन्छ । यो प्रक्रिया पूरा गरी शुक्रबार साँखु क्षेत्रमा लगला सप्तमी पर्व मनाइएको छ ।

विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ । माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।

माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ । माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ । साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ ।

भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।