१५ चैत्र २०८०, बिहीबार

महाशिला गाउँपालिकाको मुख्य केन्द्र सारिने

1613725197 w51P2

सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह गठन भएपछि वडा नं ३ बालाकोटमा तोकिएको पर्वतको महाशिला गाउँपालिकाको स्थायी केन्द्र परिवर्तन गरिने भएको छ । गाउँपालिकाको नवौं गाउँसभाले पालिकाको स्थायी मुख्य केन्द्र साविक वडा नं ५ लुङ्खुदेउराली र वडा नं ३ बालाकोटको सिमानामा पर्ने काफलडाँडा र ठूलास्वाँरामा बनाउने निर्णय गरेको हो । गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालयका दुईवटा भवन काफलडाँडा र ठूलास्वारामा निर्माण गर्ने निर्णय गाउँसभाले गरेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हाल गापाको काम साविक वालाकोटको गाविस भवनवाट सेवा प्रवाह गरिँदै आएको छ । उक्त कार्यालय साँघुरो र नयाँ संरचना बनाउने ठाउँसमेत पर्याप्त नहुँदा दैनिक कार्यसम्पादनमा समस्या पर्दै आएको छ । काफलडाँडा र ठूलास्वाँरामा नौ रोपनी जग्गा रहेको छ । प्रदेश र सङ्घीय सरकारको सहयोगमा बन्ने प्रशासनिक भवनका लागि गाउँसभाले स्रोतको सुनिश्चितता गर्ने निर्णयसमेत गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । “हामीले नयाँ प्रशासनिक भवन निर्माणका लागि स्रोतको सुनिश्चिततासमेत गरेका छौँ”, उहाँले भन्नुभयो, “वडा नं ३ कै काँफलडाँडा र सँगै जोडिएको ठूलास्वाँरामा भवन बनाउँदा सबैलाई पायक पर्ने भएकाले गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो ।”

त्यसैगरी गाउँसभाले १५ श्ययाको पालिकास्तरीय आधारभूत अस्पताल निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । उक्त अस्पतालको गएको मङ्सिर १५ गते शिलान्यास भइसकेको छ । गाउँसभाले बालाकोट स्वास्थ्यचौकीको भवन निर्माणसम्बन्धी जग्गा प्रस्तावसमेत अनुमोदन गरेको छ । राजस्वका दरमा परिवर्तन, घर जग्गाको नक्सा पासको दस्तुर निर्धारण गर्ने निर्णयसमेत गाउँसभाले गरेको अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँसभामा जनप्रतिनिधि निर्वाचित भएदेखि हालसम्म गरेका कामको बारेमा स्वेतपत्र प्रस्तुत गरिएको छ । उक्त स्वेतपत्रमा आवश्यक सुझाव तथा प्रतिक्रिया लिएपछि सार्वजनिक गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाको समृद्धि र विकासका लागि के के काम भए र अब गर्नुपर्ने मुख्य काम के के छन् भन्ने विषयवस्तु समेटेर स्वेतपत्र जारी गरिएको उहाँले बताउनुभयो । गाउँसभाले केही आर्थिक तथा विनियोजन ऐन परिमार्जनको प्रस्ताव पारित गरिएको भने भने केही बजेट संशोधनसमेत गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...